निर्वाचन आयुक्तको नियुक्तिबारे संसदीय सुनुवाइ समिति अनिर्णित

निर्वाचन आयुक्तको नियुक्तिबारे संसदीय सुनुवाइ समिति अनिर्णित


काठमाण्डु –प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समितिले थप छलफल गर्ने भएको छ ।

सिंहदरबारमा बुधबार प्रस्तावित आयुक्त प्रधानसँग छलफल गरेपछि समितिले थप छलफल गर्नुपर्ने निर्णय गरेको छ ।

समितिको अर्को बैठकले निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय लिने जनाइएको छ ।

बैठकमा सांसदहरूले प्रधानविरुद्धको उजुरीबारे प्रश्न गर्दा उनले जवाफ दिएका थिए । समिति सदस्य महेश बर्तौलाले प्रधानविरुद्ध गम्भीर उजुरी परेको भन्दै जवाफ दिन माग गरेका थिए ।

समिति सदस्य जीवन परियारले चरित्रबारे नै प्रश्न उठिसकेको आरोपबारे जिज्ञासा राखेका थिए । समिति सदस्य जनार्दन शर्माले उजुरी हेर्दा निकै गम्भीर देखिएकाले उच्च नैतिक चरित्रको विषय आकर्षित हुनसक्ने बताए ।

जवाफमा प्रधानले समितिबाट उजुरी प्राप्त नगरेको र पत्रपत्रिकाबाट जानकारी पाएको बताए । उनले यसअघि आफ्नो कार्यालयमा कार्यरत कर्मचारीले कानूनविपरीत काम गरेकाले अदालतमा उजुरी गर्दा विवाद निरुपण भएको बताए ।

अदालतमा मिलिसकेको विषयमा समितिमा उजुरी गर्नु कतिको उचित हुन्छ भन्दै उनले उल्टै प्रश्न गरेका थिए ।

संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेर सुनुवाइको प्रक्रिया अगाडि बढेको छ ।