भावी सेनापतिमाथि शृंखलाबद्ध प्रहार ! नेतृत्वमा पुग्नैलाग्दा किन चर्काइन्छ विवाद ?

भावी सेनापतिमाथि शृंखलाबद्ध प्रहार ! नेतृत्वमा पुग्नैलाग्दा किन चर्काइन्छ विवाद ?


काठमाण्डु – नेपाली सेनाको प्रधानसेनापति बन्ने लगभग निश्चितजस्तै भएका बलाधिकृत रथीमाथि विवाद बल्झाइने गरेको प्रवृत्ति दोहोरिएको छ । यसपालि बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने क्रममा रहँदा जन्ममिति विवाद चर्काइएको छ ।

यसअघि पनि रुकमाङगत कटुवाल, छत्रमान गुरुङ, राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा र हालका प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापति बन्नै लाग्दा जन्ममिति र शैक्षिक योग्यताको प्रमाणपत्रको विवाद चर्काइएको थियो ।
प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते सैनिक सेवाबाट अनिवार्य अवकाश पाउँदैछन् । सेनामा प्रधानसेनातिबाट अवकाश पाउनु १ महिनाअघि बिदामा बस्ने परम्परा छ । शर्मा साउन २४ गतेबाट बिदामा बस्नेछन् ।

सेनाको १ नम्बरमा रहेका बलाधिकृत रथी अशोक सिग्देललाई त्यसअघि नै कायममुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने तयारी भइरहँदा सञ्चारमाध्यममार्फत जन्ममितिको विवाद झिकिएको छ ।

शर्माले बिदामा बस्नुअघि नै उत्तराधिकारी जर्नेल सिग्देललाई राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई औपचारिक रूपमा परिचय गराउन सुरु गरिसकेका छन् । प्रधानसेनापति शर्माले उत्तराधिकारी सिग्देललाई बिस्तारै काम हस्तान्तरण गर्न थालेको बताइएको छ । सिग्देललाई बिहिवार कामु प्रधानसेनापतिमा सिफारिस गर्ने तयारी छ ।

सेनाका २ रथीमध्ये निर्मल थापा विदेशमा छन् । थापा अहिले फोर्स कमाण्डरका रूपमा ‘अनडफ’ मिसनमा कार्यरत छन् । त्यसपछि उपरथी सन्तोष ढकाल र बाबुराम श्रेष्ठ छन् । ढकाल पनि सेनामा चाँडै अवकाश पाउनेमा छन् । प्रधानसेनापति शर्मा अवकाशमा गएसँगै श्रेष्ठ सेनाको तीन तारे जर्नेल बन्नेछन् ।

भावी प्रधानसेनापति सिग्देलमाथि विवाद झिकिएपछि नेपाली सेनाले पत्रकार सम्मेलन नै गरेर स्पष्ट पारिसकेको छ । सैनिक मुख्यालय जंगी अड्डामा पत्रकार सम्मेलन गरेर सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको स्पष्ट पारेका छन् ।

‘पछिल्ला दिनमा सिग्देलको नागरिकता विवादलाई लिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भए । हामीले उहाँले जागिर खाँदा बुझाएको नागरिकता लगायतको प्रतिलिपि भिडाउँदा कुनै विवाद देखिएन,’ उनले भने ।

रथी सिग्देलको सुरूमा लिएको नागरिकता र पछि लिएको प्रतिलिपि, एसएलसी दिँदा उल्लेख गरेको जन्ममिति लगायतका कागजात पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गरिएको नागरिकतामा सिग्देलको उमेर १७ वर्ष भनेर उल्लेख गरिएको थियो । २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि लिएको उल्लेख थियो ।

सिग्देलको एसएलसीको प्रमाणपत्रमा जन्म मिति २०२३ माघ १९ छ । जुन नागरिकता २०४० भदौ २९ गते जारी भएको थियो । अर्को २०४३ भदौ १२ गते सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको प्रमाणपत्र छ, त्यसमा पनि २०२३ माघ १९ गतेकै मितिमा जन्म भएको उल्लेख छ ।

‘नागरिकता र एसएलसी दिँदा जन्ममिति एउटै छ । यसको अलावा नेपाली सेनामा भर्ना हुँदा पनि उहाँले यही नागरिकता र यही प्रमाणपत्र पेश गरेको पनि जानकारी गराउन चाहन्छु । कुनै प्रमाण पत्रमा वर्ष मात्रै उल्लेख भएको र अर्को प्रमाण पत्रमा पूरा जन्म मिति खुलेको रहेछ र त्यस्तो प्रमाण पत्रमा उल्लिखित जन्म मितिहरूका बीचमा १ वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्म मितिलाई आधार मान्नुपर्ने व्यवस्था रहेको छ,’ केसीले भने ।

यसअघि पनि जन्ममिति सम्बन्धी विवाद भएपछि सिग्देलका कागजात चेकजाँच भइसकेका थिए । उनी उपरथीबाट रथीमा बढुवा हुँदा नै जन्ममिति विवाद टुंगो लागिसकेको थियो ।

छानबिन भइसकेको र टुंगो लागिसकेको विषयलाई फेरि बल्झाएर सैनिक संगठनलाई नै विवादित बनाउन खोजिएको बताइन्छ । ‘रथी सिग्देलको हकमा उच्चस्तरबाट नै पटक–पटक छानविन भएको अवस्था छ । सबै सरकारी निकायले समेत उहाँको डकुमेण्टमा कुनै कैफियत नभएको भनेर प्रमाणित गरिसकेको अवस्थामा यो विवाद झिक्नु संगठनलाई योजनाबद्ध ढंगले कमजोर गर्ने काम भएको छ,’ अवकाशप्राप्त उपरथी पूर्ण सिलवालले काठमाण्डुपाटीसँग भने ।

सिलवालले रथी सिग्देलका प्रतिस्पर्धीहरूले नै आफ्नो व्यक्तिगत स्वार्थका लागि गलत तथ्य बाहिर ल्याई राजनीतिक र सञ्चारमाध्यमको सहारा लिएर संगठनकै बेइज्जत गरेको उनले दाबी गरे ।

‘उहाँ (रथी सिग्देल) उपरथीबाट रथीमा बढुवा हुँदा संस्थाले नै ७ दिने सूचना जारी गरेर उजुरीका लागि आह्वान गरेको थियो । त्यसमा उजुरी नहालेर बाहिर–बाहिर हल्ला गर्ने काम भयो । रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालय गएर समेत गुनासो गर्ने ठाउँ छ । त्यो पनि उहाँहरूले गरेको देखिएन । त्यसैले यो योजनाबद्ध ढंगले सेनालाई बदनाम गर्ने काम भइरहेको छ, जुन कुरा निकै दुःखद छ,’ पूर्व उपरथी सिलवालले भने ।