भारतमा वैरागी र चीनमा रेग्मी राजदूत सिफारिश हुँदै

भारतमा वैरागी र चीनमा रेग्मी राजदूत सिफारिश हुँदै


काठमाण्डु-सरकारले भारत र चीनका लागि नयाँ राजदूत सिफारिश गर्न लागेको छ । पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि विभिन्न  ८  देशमा राजदूत सिफारिश गर्ने निर्णय सरकार परिवर्तनसँगै अलत्रप परेपछि केपी ओली नेतृत्वको नयाँ सरकारले नयाँ राजदूत सिफारिश गर्न लागेको हो । स्रोतका अनुसार भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ।

समाचार स्रोतका अनुसार भारतका लागि राजदूतमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी र चीनका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिश गर्ने सरकारले तयारी गर्न लागेको हो । मन्त्रिपरिषदको आज आज बस्न लागेको बैठकले उनीहरूलाई राजदूतमा सिफारिश गर्नेछ ।

वैरागी संविधानले नचिनेको राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठ ३२ गते उनलाई राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए ।

नेपाल टेलिकमको टेरामेक्स खरिद प्रकरण र दुरसंचार प्राधिकरणमातहतका खरिद प्रकरणमा दोषी देखिएका विकल पौडेल र सुनिल पौडेलसंग बैरागीको नाम जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान अगाडि बढाएको थियो । तर,उच्च राजनीतिक दबाबका कारण उनले उन्मुक्ति पाएका छन् ।

भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मालाई अघिल्लो सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । तर नयाँ सरकार बनेपछि परराष्ट्र मन्त्रालयले उनलाई एक महिनाका लागि थमौती गरेको थियो । शर्मा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा निकट मानिन्नछन् ।

यस्तै रेग्मी पूर्वमुख्यसचिव हुन् । अघिल्लो सरकारले उनलाई भारतका लागि राजदूतमा सिफारिस गरेको थियो । उनी एमाले निकट मानिन्छन् । चीनमा अहिले माओवादी केन्द्रको सिफारिसमा गएका विष्णुपुकार श्रेष्ठ राजदूत छन्। नयाँ राजदूत सिफारिस हुनुअघि श्रेष्ठलाई फिर्ता बोलाउने सरकारको तयारी छ।

यसैबीच सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय पठाउने भएको छ ।