राष्ट्रियसभा उपाध्यक्ष घिमिरे स्वदेश फिर्ता

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे स्वदेश फिर्ता


काठमाण्डु – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे चीनको ५ दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएकी छन् ।

चीनको युनान प्रान्तको कुन्मिङ शहरमा सम्पन्न ८औं चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी भएर उनी स्वदेश फर्किएकी हुन् ।

उपाध्यक्ष घिमिरे ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ५ गते चीन गएकी थिइन् । उपाध्यक्ष घिमिरेसँगै प्रतिनिधिमण्डलका सदस्यहरू राष्ट्रिय सभाका सदस्यहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह पनि बिहीबारै स्वदेश फर्किएका छन् ।

उपाध्यक्ष घिमिरेले २३ जुलाईमा भएको प्रदर्शनीको उद्घाटन समारोहमा सम्बोधन गरेकी थिइन् । सभामा सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति सधैं प्रतिबद्ध रहेको बताइन् । नेपालमा पञ्चशिलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालनमा रहिआएको तथा चीन र नेपालबीच दौत्य सम्बन्ध कायम भएपश्चात चीन–नेपाल सम्बन्ध नयाँ उचाइमा पुगेको पनि बताएकी थिइन् ।

भ्रमणका क्रममा उपाध्यक्षले चीनको जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष डिङ झोङ्गली, युनान प्रान्तका गर्भनर वाङ यू लगायतका चिनियाँ उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । भेटका अवसरमा चिनियाँ अधिकारीहरूले सहयोगको क्षेत्रलाई थप फराकिलो बनाउँदै जाने, नेपाली विद्यार्थीका लागि थप छात्रवृत्ति उपलब्ध गराउने तथा नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरणलाई बढाउने प्रतिबद्धता जनाएका थिए ।