भान्सामा पकाउने आलुका लागि भारतकै भर ! १ वर्षमा अर्बको आयात

भान्सामा पकाउने आलुका लागि भारतकै भर ! १ वर्षमा अर्बको आयात


खजुरा – बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ ।

सो अवधिमा ४ करोड ४९ लाख ८४ हजार ६६९ किलो आलु भारतबाट आयात गरिएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा १८ करोड रुपैयाँको आलु बढी आयात गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा ९३ करोड ६० लाख ६९ हजार बराबरको ३ करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।

आलु आयातबाट आव २०७९/८० मा १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०/८१ मा २७ करोड २२ लाख ४४ हजार राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १३ करोड रुपैयाँ राजस्व वृद्धि भएको छ ।

पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यान लगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताए । उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन ।