टीआरसी विधेयकमा सैद्धान्तिक सहमति जुट्यो

टीआरसी विधेयकमा सैद्धान्तिक सहमति जुट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संक्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठकमा टीआरसी विधेयकमा सैद्धान्तिक सहमति जुटेको छ ।

शुक्रबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको छ ।

संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी थिए ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए । ‘संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएको छौं । यस विषयमा सोमबार सरोकारवालासँग छलफल गरौं । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रूप दिने कुरा भएको छ,’ उनले भने ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि संक्रमणकालीन न्याय सम्बन्धी विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिम रूप दिने गरी शुक्रबारको बैठक सकिएको बताए । ‘हामी यो विषयलाई अन्तिम रूप दिँदैछौं । फाइनल गर्नका लागि केही रायहरू पनि सोमबारसम्म लिन्छौं । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ,’ उनले भने ।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाले बताए । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउन उनको भनाइ छ ।