क्रिकेटर लामिछानेविरुद्ध गौशाला–२६ ले अब मुद्दा नलड्ने, वकिल कार्यालयमा निवेदन पेश

क्रिकेटर लामिछानेविरुद्ध गौशाला–२६ ले अब मुद्दा नलड्ने, वकिल कार्यालयमा निवेदन पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी गौशाला–२६ ले अब मुद्दा नलड्ने भएकी छन् ।

क्रिकेटर सन्दीपलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने भएकी छन् ।

उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्तालाई निवेदन दिँदै उनले पुनरावेदनलाई अगाडि नबढाउन आग्रह गरेकी छन् ।

शुक्रबार उच्च सरकारी वकिल कार्यालय पुगेर उनले पुनरावेदनमा नजाने निवेदन दिएकी छन् । निवेदनमा भनिएको छ, ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादीविरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए । लामो समयदेखि त्रासपूर्ण जीवन बाँच्दै आएको छु । यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइनँ । सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारबाही थप अगाडि नबढाउन आग्रह गर्छु ।’

जिल्ला अदालत काठमाण्डुले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरे पनि उच्च अदालतले सफाइ दिएको थियो ।