४० किलोको चुम्बक प्रयोग गरी त्रिशूलीमा खोजिदैछ हराएका बस

४० किलोको चुम्बक प्रयोग गरी त्रिशूलीमा खोजिदैछ हराएका बस


काठमाण्डु-सिमलतालको पहिरोमा परि यात्रुसहित त्रिशूलीमा बेपत्ता दुई बसको खोजीको लागि भारतबाट आएका खोजी टोलीले चुम्बक प्रयोग गरेर खोजीको अन्तिम प्रयास थालेका छन् ।

चार जना गोताखोरसहित भारतको राष्ट्रिय विपद् रेस्पोन्स टीमका १२ सदस्यीय टोली सात दिनकोे लागि भनेर खोजी कार्यमा सहयोग गर्न चितवन आएका थिए । हिजो शुक्रबार नै उनीहरु खोजीको लागि आएका सात दिनको समय पूरा भइसकेको छ ।

उनीहरु चितवन आएदेखि नै दुर्घटनामा हराइरहेका ३२ जना यात्रु र दुबै बसको कुर्न पत्तो लागेको छैन । खोजीको लागि दैनिक पाँच सय हाराहारीमा सुरक्षाकर्मी, तालिमप्राप्त नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिरहेका छन् ।

साउन ४ गतेदेखि नै उक्त दुर्घटनासँग सम्बन्धित व्यक्तिको थप संख्या पनि भेटिएको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ४० किलोको म्याग्नेटिक डिभाइस ल्याएर अन्तिम खोजी भइरहेको छ।

उनका अनुसार सिमलताल दुर्घटनास्थल सिमलतालदेखि केराबारी क्षेत्रसम्मको त्रिशूली नदीमा आज भारतबाट ल्याइएको म्याग्नेटिक डिभाइस पानीभित्र डुबाएर खोजी भइरहेको छ । ।

अहिलेसम्म केही प्रगति नभएपछि भारतीय टोलीले उतैबाट म्याग्नेटिक डिभाइस मगाएका हुन् । उक्त डिभाइसले पानीमूनी भएको बस्तुलाई पहिचान गर्न सजिलो हुन्छ ।

गत असार २८ गते काठमाडौँबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बसलाई सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले त्रिशूली नदीमा खसाएको थियो ।

त्रिशूलीमा डुबेका दुबै बसमा गरेर ६५ जना यात्रु रहेक थिए । उनीहरुमध्ये तीन जनाले पौडिएर ज्यान बचाएका थिए । बाँकी ६२ जना त्रिशूलीमा बेपत्ता भएका हुन् । बेपत्ता भएकामध्ये १९ जनाको शव खोजी टोलीले भेटेर बसका यात्रु रहेको पहिचान छ । तिमध्ये ५ जना भारतीय नागरिक रहेका छन् ।