सुर्खेत–जुम्ला र डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध

सुर्खेत–जुम्ला र डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध


सुर्खेत-कर्णाली करिडोरअन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत, जुम्ला, मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो । पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो । सडक खुलाउन प्रयास भइरहेको उनले बताए ।

यस्तै, लमजुङमा पहिरोले तनहुँको डुम्रे–लमजुङको बेँसीशहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको पानीले सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार तनहुँतर्फ बेँसीशहर नगरपालिका–१ दलाल र मनाङतर्फ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो । खरखरे भिरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ ।

सडक अवरुद्ध हुँदा लमजुङको बेँसीशहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाण्डौ, पोखरा, चितवन आउने÷जाने गाडी र यात्रु अलपत्र परेका छन् । बन्द सडक खुलाउन प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।