११३ अंक बढ्यो नेप्से, १५ अर्ब ८१ करोडको कारोबार

११३ अंक बढ्यो नेप्से, १५ अर्ब ८१ करोडको कारोबार


काठमाण्डु – आइतबार नेप्से परिसूचक ११३ अंकले बढेर २६८१को विन्दुमा पुगेको छ । आज सेयर किनबेचमा १५ अर्ब ८१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

दिनभरको कारोबारमा दुई पटक सर्किट ब्रेक लागेपछि बजार सम्हालिएको थियो ।

आइतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढ्यो, जसले गर्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन ।

आइतबार माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रका सूचक बढे । सबै बजार बढ्दा माइक्रोफाइनान्स ०.१८ प्रतिशत घट्यो ।

बैंकिङ ९.८९, विकास बैंक ४.८, फाइनान्स १.२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर ०.८३, लगानी ५.७५, जीवन बीमा ४.२४, उत्पादन १.७२, निर्जीवन बीमा २.६८, अन्य ३.१९ प्रतिशत बढ्यो ।

आज १८ वाणिज्य बैंकको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।