काठमाण्डु-नेपाल एसियाली विपद पूर्वतयारी केन्द्र (एडीपीसी) को उपाध्यक्षमा मनोनीत भएको छ । थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न केन्द्रको बोर्ड अफ ट्रष्टिजको पाँचौं बैठकले नेपाललाई १ वर्षका लागि उपाध्यक्षमा मनोनीत गरेको हो ।
आगामी वर्ष नेपालले केन्द्रको अध्यक्षता ग्रहण गर्नेमा पनि बैठकले सर्वसम्मतिमा निर्णय गरेको छ । बोर्डको आगामी कार्यकारी अधिकृत छनौट गर्ने पाँच सदस्यीय समितिमा पनि नेपालको प्रतिनिधित्व रहने भएको छ ।
विपदविरुद्ध जुध्न नेपालले अपनाउने रणनीति र प्रतिकार्य योजना तर्जुमा गर्नसमेत यो बैठक फलदायी हुने बैठकमा सहभागी गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । नेपालसहित चीन, भारत, थाइल्यान्ड, फिलिपिन्स, पाकिस्तान, श्रीलंका, बंगलादेश र कम्बोडिया केन्द्रका सदस्य राष्ट्र हुन् । साउन १० गते बैंककमा सम्पन्न उक्त बैठकका लागि नेपालबाट गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र गृह मन्त्रालयकै विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख (सहसचिव) भीष्मकुमार भुसाल सहभागी थिए ।
केन्द्र एसियाली मुलुकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रणाली, व्यवस्थित सहरीकरण तथा उत्थानशीलता, स्वास्थ्य जोखिम व्यवस्थापनसहित प्रकोप न्यूनीकरण र व्यजवस्थापनका लागि प्रतिकार्य योजना/रणनीति तयारी, जोखिमपछिको पुनर्लाभ, जलवायु परिवर्तनले पार्ने असर र त्यसबाट बच्ने उपायसहितका क्षेत्रमा काम गर्ने एसियाली तहको फोरम हो । यसका लागि सदस्य राष्ट्रहरुले सरकार, निजी क्षेत्र, संयुक्त राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, र प्राज्ञिक प्रतिष्ठानहरुसँगको सहकार्यमा विपद जोखिम विरुद्ध काम गर्दै आएका छन् ।
केन्द्रको आर्थिक सहयोगबाट नेपालमा हालसम्म प्राकृति विपदसहितका संकटबाट जुध्न विभिन्न ३६ वटा परियोजना कार्यान्वयनमा रहेका छन् । विपद जोखिम न्यूनीकरण र जलबायु उत्थानशीलताका थप कार्यक्रम आकर्षित गर्न नेपालले थाइल्यान्डस्थित नेपाली राजदूतलाई बोर्डको आवासीय वैकल्पिक सदस्य तोकेको छ भने आयोजक राष्ट्रका रुपमा सम्झौता गरी उपकेन्द्र खोल्ने प्रक्रियालाई समेत अघि बढाइने गृह मन्त्रालयले जनाएको छ ।
नेपाल प्राकृतिक विपदका दृष्टिकोणले जोखिममा रहेको मुलुक हो । जलवायु परिवर्तनको असरले गर्दा हिउँदमा सुख्खा पहिरो, डढेलो, खण्डहरजस्ता समस्या बर्सेनि दोहोरिरहन्छ । बर्खायाममा बाढी÷पहिरो, डुबान, कटान दोहोरिरहने समस्या हो । नेपालमा देशभर करिब ६ हजार नदी÷खोला, नाला, खोल्सी लगायतबाट आउने बाढीको असरले जनधनको क्षति हुने मात्र होइन, त्यसको असर तराइ–मधेसमा हजारौं बिघामा बालीनाली नष्ट गर्छ ।
प्रतिक्रिया