पोखरा-गण्डकी प्रदेशका सार्वजनिक सवारी व्यवसायीले राइड सेयरिङको विरोधमा गत हप्तादेखि थालेको आन्दोलन फिर्ता लिएका छन् । व्यवसायी प्रदेश सरकारलाई बुझाएका मागबारे अध्ययन गरेर प्रतिवेदन पेस गर्न समिति गठन भएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।
व्यवसायीले आइतबार सार्वजनिक सवारी घरमै थन्काएका थिए । त्यसपछि आइतबार नै कार्यबहाक मुख्यमन्त्री विन्दुकुमार थापा, भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री राजीव गुरूङ, सार्वजनिक यातायात व्यवसायी, सुरक्षा निकाय, राइड सेयरिङका प्रतिनिधिबीच बैठक बसेको थियो ।
बैठकले यातायात मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति बनाएको छ । समितिको सदस्यमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत, कास्कीका ट्राफिक प्रहरी प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी, सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी, राइडर्स पोखरा, उपभोक्त मञ्च गण्डकी र एक जना यातायात मजदुर छन् । यातायात मन्त्रालयका एक जना अधिकृतलाई सदस्य सचिवको जिम्मा तोकिने छ ।
समितिलाई राइड सेयरिङसम्बद्ध विषयमा प्रदेश सरकारलाई प्राप्त पत्र अध्ययन गरेर १५ दिनभित्र प्राविधिक प्रतिवेदन बुझाउन भनिएको छ । यो सहमतिपछि सोमबारदेखि सवारी चल्न थालेका छन् ।
पोखरामा पछिल्ला दिनमा इन्ड्राइभ, पठाओका राइडर सार्वजनिक सवारीका चालक र सहचालकबाट कुटिँदै आएका छन् । उग्र प्रस्तुत भएका यातायात मजदुरले आइतबार पत्रकारमाथि कुटपिट र स्कुटर तोडफोड गरेका थिए । कुटपिटको विषयलाई जोडेर यातायातमन्त्री राजीव गुरूङले पत्रकार अमृत सुवेदीलाई कुट्नुपर्ने अमर्यादित अभिव्यक्ति दिएका थिए ।
पत्रकार सुवेदीले मन्त्री गुरूङले कार्यकक्षमा गञ्जी मात्र लगाएर बसेको तस्वीर सार्वजनिक गरेका थिए । त्यसपछि आइतबार अन्य पत्रकारसँग कुरा गर्दै उनले पत्रकार सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया