स्वदेशी उद्योगमा दुई खर्ब एक अर्बको लगानी प्रस्ताव

स्वदेशी उद्योगमा दुई खर्ब एक अर्बको लगानी प्रस्ताव


काठमाण्डु-पछिल्लो एक वर्षमा नेपालको उद्योग क्षेत्रमा दुई खर्ब एक अर्ब ८१ करोड रुपैयाँको लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८०-०८१ मा उक्त लगानी प्रस्ताव आएको हो ।

पछिल्लो महिना असारमा मात्र उद्योग क्षेत्रमा ११.२२ अर्ब रुपैयाँको प्रस्ताव आएको विभागले जनाएको छ ।

विभागको विवरणअनुसार २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा दर्ता भएका ४३४ उद्योगमा उक्त लगानीको प्रस्ताव आएको हो ।

गत आर्थिक वर्ष दर्ता भएका उद्योगमा ३३३ वटा साना, ५२ वटा मझौला र ४९ वटा ठूला रहेका छन् । ती उद्योगमा २५ हजार ५५१ जनालाई रोजगारीको प्रस्ताव गरिएको छ ।

बितेको एक वर्षमा नेपालको उद्योगमा ६१.७८ अर्ब रुपैयाँको विदेशी लगानी प्रस्ताव आएको विभागको तथ्यांकले देखाउँछ । विदेशी लगानीको प्रस्ताव भएका परियोजनामा १९ हजार ५६५ रोजगारी सिर्जना हुने जनाइएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९-०८० मा दर्ता भएका ३२२ उद्योगमा दुई खर्ब १४ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको थियो । ती उद्योगमा ३८ अर्ब ४० करोड रुपैयाँको विदेशी लगानीको प्रस्ताव रहेको थियो ।

आर्थिक वर्ष २०७९-०८० को तुलनामा आर्थिक वर्ष २०८०-०८१ मा उद्योग क्षेत्रमा १३ अर्ब रुपैयाँ कम लगानी प्रस्ताव आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष भने उद्योग क्षेत्रमा वैदेशिक लगानीको प्रस्ताव बढेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योग क्षेत्रमा २३ अर्ब ३८ करोड रुपैयाँ बढी लगानीको प्रस्ताव आएको विभागको तथ्यांकले देखाउँछ ।