काठमाण्डु – चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबर स्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उद्देश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ ।
नयाँ नियमले अपमान, अफवाह, मानहानी र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नको लागि इन्टरनेट सूचना सेवा प्रदायकले प्रयोगकर्तालाई व्यक्तिगत मेसेजहरू स्वीकार वा अस्वीकार गर्ने विकल्प प्रदान गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ नियमले इन्टरनेट सूचना सेवा प्रदायकलाई ‘बौद्धिक सूचना छनोट’, ‘कस्टम किवर्ड छनोट’ जस्ता कार्यहरू कार्यान्वयन गर्न प्रोत्साहित गरेको छ ।
सेवा प्रदायकले प्रयोगकर्ताको अधिकारको रक्षा गर्न प्रमाण संकलन लगायतका कार्यहरू गर्न आवश्यक रहेको प्रावधान नियममा समेटिएको छ ।
चीनको साइबर स्पेस प्रशासन, सार्वजनिक सुरक्षा मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र रेडियो र टेलिभिजन प्रशासनले संयुक्त रूपमा नियमावली जारी गरेको छ ।
प्रतिक्रिया