काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो विदेश भ्रमण थाइल्याण्डबाट गर्ने भएका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौ सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली सेम्टेम्बरको पहिलो हप्ता थाइल्याण्ड भ्रमणमा जाने तयारी भइरहेको छ ।
कांग्रेस–एमाले गठबन्धन बनेपछि प्रधानमन्त्री भएका ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणको विषयमा छलफल चलिरहेको छ ।
बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् ।
थाइल्याण्डको राजधानी बैंककमा सेप्टेम्बरको पहिलो साता छैटौं बिमस्टेक शिखर सम्मेलन आयोजना हुँदैछ । शिखर सम्मेलन सम्भवतः सेप्टेम्बर ४ मा सुरु हुनेछ । यद्यपि मिति तय भइसकेको छैन ।
बिमस्टेक शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै सदस्य राष्ट्रका अन्य राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिए ।
यसअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो पटक सन् २००२ मा थाइल्याण्डको औपचारिक भ्रमण गरेका थिए भने पूर्व युवराज पारस सन् २००३ मा थाइल्याण्डको अध्ययन भ्रमणमा गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बिमस्टेक शिखर सम्मेलन पछि प्रधानमन्त्रीको थाइल्याण्डको औपचारिक भ्रमण गराउने विषयमा पनि पहल थालेका छन् ।
यस्तै बिमस्टेक शिखर सम्मेलनपछि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन सेप्टेम्बरको अन्त्यमा प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणका लागि पनि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरिरहेको छ ।
यसैबीच प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण चीनबाट गराउन चिनियाँ अधिकारीहरूले पनि पहल थालेका छन् ।
प्रतिक्रिया