काठमाण्डु-निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’ले छायांकन अगावै रिलिज मिति घोषणा गरेको छ । २१ भदौमा छायांकनमा जान लागेको यो चलचित्र १६ फागुनमा देशभर एकसाथ रिलिज हुनेछ ।
चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेको चलचित्रका निर्देशक सशान कँडेलले बताए । चलचित्रमा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे । आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन् । आशिषले बाल्यकालमा चर्चित हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए ।
यस्तै, ‘होस्टेल ३’ मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् । हेना थिएटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन् । इन्टरनेट दुनियाँका चर्चित पारस बम ‘कुल ब्वाय’ नामले परिचित छन् ।
रिहान गिरी गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को चौथो संस्करणको टप १० फाइनलिस्ट हुन् । पदम तामाङ भारतको सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन्, जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित छन् । सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन् । यी कलाकारबाहेक अन्य कलाकारहरू पनि चलचित्रमा अनुबन्ध भइसकेको र उनीहरूलाई क्रमशः परिचय गराउने निर्देशकले कँडेलले बताए ।
‘होस्टेल’ चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ । ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठलगायतका कलाकारहरूले डेब्यु गरेका थिए । त्यस्तै, ‘होस्टेल रिटर्न्स’ बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजिर हुसेन, सुशील सिटौलालगायतका कलाकारले डेब्यु गरेका थिए । उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन् । २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए ।
‘होस्टेल ३’ का लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । ‘होस्टेल ३’ लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । चलचित्रका कार्यकारी निर्माता शंकर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।
प्रतिक्रिया