काठमाण्डु-काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरान भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।
लिगमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ ।
उता इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ ।
लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ । समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।
२ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहिन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ ।
नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो। दोस्रो खेलमा भने शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो ।
इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो । श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो ।
आजै हुने आइतबारको पहिलो खेलमा श्रीलंका र मालदिभ्स खेल्नेछन् । सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । मालदिभ्स र श्रीलंका पहिलो जितको खोजीमा छन् ।
प्रतिक्रिया