इरानको आरोप-हानियाको हत्या इजरायल र अमेरिकाको मिलोमतोमा भयो

इरानको आरोप-हानियाको हत्या इजरायल र अमेरिकाको मिलोमतोमा भयो


काठमाण्डु-इरानको तेहरानमा मारिएका हमासका नेता इस्माइल हनियाको हत्या कम दुरीमा हान्न सक्ने मिसाइलको प्रयोगबाट भएको इरानले बताएको छ । उनको हत्या कसरी भयो भन्ने बारेमा विभिन्न कुरा आइरहेको बेलामा इरानले पछिल्लो धारणा राखेको थियो ।

यसअघि न्यूयोर्क टाइम्स लगायतका पश्चिमा मिडियाले उनको हत्या दुई महिनाअघि नै गेस्ट हाउसमा फिट गरिएको बम रिमोटबाट विस्फोट गराएर भएको जनाएका थिए । इरानको एलिट रिभोलुस्नरी गार्डस (आईआरजीसी)ले शनिबार एक वक्तव्य जारी गरी पछिल्लो धारणा राखेको हो ।

इरानको सरकारी फार्स समाचार एजेन्सीले हानिया रहेको स्थानको छोटो दूरीबाट मिसाइल वा प्रोजेक्टाइल प्रहार गरिएको जनाएको छ । त्यसमा दाबी गरिएअनुसार यस योजनाको कार्यान्वयन इजरायलले गरेको र अमेरिकी सरकारको पनि समर्थन रहेको थियो । यद्यपि अमेरिकाले सो घटनामा आफ्नो कुनै लेनादेना नभएको जनाएको थियो ।

आईआरजीसीको भनाई पश्चिमा मिडियाले भनेको कुरासँग मेल नखाएको पाइएको छ । आईआरजीसीका दर्जनौं अधिकारीलाई पक्राउ वा सेवाबाट बर्खास्त गरेर सो घटनाबारेमा छानबिन इरानमा थालिएको न्यूयोर्क टाइम्सको शनिबारको एक रिपोर्टमा जनाइएको छ ।

इरानको राजधानीमा नै गोली हानी हत्या भएपछि त्यहाँको सुरक्षालाई लिएर पनि इरानभित्र चासो उत्पन्न भएको छ । सो हत्यामा आफ्नो संलग्नता इजरायलले भने अझै पनि स्वीकार नगरिएको बीबीसीले जनाएको छ ।