काठमाण्डु –२१ पुसमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल सेवानिवृत्त भएपछि रिक्त भएको पदमा अहिलेसम्म नयाँ अध्यक्ष चयन हुन सकेका छैनन् । बोर्ड अध्यक्ष रिक्त भएको सात महिना पुग्दा पनि नयाँ अध्यक्ष कहिले चयन हुने भन्ने टुंगो छैन ।
यसभन्दा अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वमा तीन सदस्यीय धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति बनाएको थियो । समितिले अध्यक्षका लागि दरखास्त आह्वान गरेर ५ जनालाई सर्ट लिष्टमा पारेर छनोट प्रक्रिया अगाडि पनि बढाएको थियो ।
तर, राजनीतिक खिचातानीका कारण छनोट प्रक्रिया असफल भएपछि अर्थ मन्त्रालयले प्रक्रिया रद्द गरेको थियो । त्यसविरुद्ध परेको रिटमा १८ असारमा नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्यो । यो आदेशपछि बोर्डको अध्यक्ष पदपूर्तिमा अन्योल बढिरहेको छ ।
आइतबार (आज)का लागि सर्वोच्चले सो रिटको पेसी निर्धारण गर्ने भनिएको थियो । तर, आज सरकारले सार्वजनिक बिदा दिएको छ । अब पेसीको नयाँ मिति कहिले हो केही निश्चित छैन । बोर्डका कर्मचारीहरू अर्काे साताका लागि पेसी तोकिने सम्भावना रहेको जानकारी आफूहरूलाई आएको बताउँछन् ।
सर्वोच्चबाट यो रिटको छिनोफानो नहुँदासम्म नयाँ अध्यक्ष कहिले आउँछ केही भन्न सक्ने अवस्था छैन ।
अहिले सेयर बजारले तीन वर्षअघिको कीर्तिमानी उचाइ पछ्याइरहेको छ । यस्तो अवस्थामा नियमनकारी निकाय धितोपत्र बोर्डको अध्यक्ष रिक्त छ ।
धितोपत्र बोर्ड ऐन, २०६३ ले पुँजी बजारको विकास गर्न तथा धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्न आवश्यक कार्य गर्ने अधिकार अध्यक्षलाई दिएको छ । अध्यक्षले बजार तथा धितोपत्र व्यवसायीको कारोबारको नियमन गर्न पाउँछ ।
अहिले सेयर लगानीकर्ताको हित संरक्षण गर्ने जिम्मा अर्थमन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश बराललाई दिएको छ । कार्यवाहक अध्यक्ष भए पनि बरालले भन्सारकै कामले भ्याइनभ्याइ भएका कारण नियमित काममा समय दिन सकिरहेका छैनन् ।
विषयविज्ञता नभएकाले विज्ञताका आधारमा निर्णय गर्न पनि बराललाई गाह्रो भइरहेको कर्मचारीहरू बताउँछन् । बरालले सोधपुछ गरेर मात्रै अघि बढ्नुपर्ने बाध्यताले खुलेर निर्णय गर्न नसकिएको स्विकार्छन् ।
बोर्डको अध्यक्ष रिक्त हुँदा विभिन्न कम्पनीका प्राथमिक सेयर र हकप्रद सेयर निष्कासन नै रोकिएर बसेका छन् । यसले पुँजी बजार नै प्रभावित भइरहेको छ ।
प्रतिक्रिया