काठमाण्डु – श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा आज भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
श्रीलङ्काले माल्दिभ्समाथि खेलको पहिलो सेट २५-२२ ले जित्यो भने दोस्रो सेट २५-१२ ले आफनो पक्षमा पार्यो । त्यस्तै खेलको तेस्रो सेट २५-१६ ले जितेपछि प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । जितसँगै श्रीलङ्काले सेमिफाइनल यात्रा तय गरेको छ । पराजित माल्दिभ्स भने सेमिफाइनल होडबाट बाहिरियो । श्रीलङ्काले यसअघि नेपालसँग ३-० र इरानसँग ३-२ सेटमा हार ब्यहोरेको थियो ।
माल्दिभ्स भने यसअघि भारत र इरानसँग समान ३-० को सेटमा पराजित भएको थियो । यस खेलसँगै उक्त प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । सेमिफाइनमा नेपाल, भारत, इरान र श्रीलङ्काले स्थान पक्का गरेका छन् । आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले इरानसँग खेल्नेछ । खेल सवा ५ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया