काठमाण्डु – बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल पुरस्कार विजेता मुहम्मद युनुस तयार भएका छन् ।
सुरुमा प्रस्ताव गर्दा अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गर्दा अस्वीकार गरेका युनुस पछि विद्यार्थीहरूले कर गरेपछि सरकारको मुख्य सल्लाहकारका रुपमा अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका हुन् ।
पहिला उनले आफूले गर्नुपर्ने काम धेरै भएकाले सरकारको नेतृत्व नगर्ने बताएका थिए । पछि विद्यार्थीहरूले धेरै कर गरेपछि भनेका छन्, ‘विद्यार्थीहरुले धेरै त्याग गरेका छन्, देशका नागरिकहरुले पनि त्याग गरेका छन् । मेरो पनि केही दायित्व हुन्छ । त्यसपछि मैले विद्यार्थीहरुलाई यो जिम्मेवारीका लागि तयार छु भनेको हुँ ।’
८४ वषीय युनुस अहिले फ्रान्समा छन् । उनले अब छिट्टै बंगलादेश फर्किन लागेकोसमेत जानकारी गराएका छन् ।
विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेलन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।
सोमबार साँझ नै राष्ट्रपति मोहम्मद शाहबुद्दिनले नेताहरूसँग छलफल गरेका थिए, जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे । उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरुलाई रिहा गर्न समेत आदेश दिएका छन् ।
आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताउँदै मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन् ।
विद्यार्थीहरूले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै अर्थशास्त्री युनुसलाई अन्तरिम सरकारको प्रमुख बनायउन प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया