बंगलादेशमा संसद् विघटन

बंगलादेशमा संसद् विघटन


काठमाण्डु – बंगलादेशमा राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन् । राष्ट्रपति कार्यालयले संसद् विघटन गरेको जानकारी दिँदै एउटा विज्ञप्ति प्रकाशित गरेको छ।

पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बाङ्ग्लादेशबाट पलायन भएपछि सेना प्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए।

आन्दोलनकारी विद्यार्थी नेताहरूले भने सेनाले बनाएको सरकार अमान्य हुने घोषणा गर्दै तत्काल संसद् विघटन गर्न माग गर्दै आएका थिए। उनीहरूको माग बमोजिम संसद् विघटन गरिएको हो ।

विद्यार्थी नेताहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका छन्।

सोमवार साँझ राष्ट्रपति शाहबुद्दिनले विभिन्न नेताहरूको बैठकपछि अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने घोषणा गरेका थिए। राष्ट्रपतिले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका थिए। उनी मंगलबार अपराह्ण जेलमुक्त भएकी छन् ।

सेनाप्रमुख जेनरल वकार उज–जामनले मंगलबार विद्यार्थी नेताहरूसँग भेट गरेका छन्।
बाङ्ग्लादेशको अन्तरिम सरकारका लागि हुने वार्तामा सेना, विद्यार्थी आन्दोलनका संयोजक र नागरिक समाज समूहसहितका मुख्य पक्षहरू छन्।

हसिनाको पार्टी अबामी लीगको प्रतिद्वन्द्वी तथा बेगम खालिदा जियाको दल बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टीले अहिलेसम्म प्रधानमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेको छैन।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त दलले विद्यार्थी नेताहरूलाई आफ्नो पूर्ण समर्थन रहने बताएको छ।