भारत र अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुँदै

भारत र अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुँदै


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भारत र अमेरिकाबाट पहिलो उच्चस्तरीय भ्रमण हुन लागेको छ ।

साउनको अन्त्यमा भारत र अमेरिकाबाट दुई वटा उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो ।

भारतीय विदेश सचिव विक्रम मिश्री आगामी साताको सुरुमा काठमाडौं आउने कार्यक्रम तय भएको छ ।

छिमेकी बंगलादेशमा विकसित राजनीतिक परिस्थितिका बावजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिव मिस्रीलाई काठमाडौं पठाउन लागेका हुन् । यद्यपी भ्रमणको मिति तय भइसकेको छैन । तर, बंगलादेशको राजनीतिक संकटले भ्रमण स्थगित पनि हुन सक्ने अधिकारीहरूले जनाएका छन् ।

पदभार ग्रहण गरेपछि मिश्रीले जुलाई १८ मा भुटानको पहिलो भ्रमण गरेका थिए ।

उनको सम्भावित नेपाल भ्रमणको उद्देश्य खुलाइको छैन । तर नयाँ परराष्ट्र सचिवहरूले पदभार ग्रहण गरेपछि आफूलाई ‘अपडेट’ गर्न र द्विपक्षीय सम्बन्धका बारेमा जानकारी लिन विभिन्न मुलुकमा भ्रमण गर्ने परम्पराअनुसार उनी नेपाल आउन लागेको नेपालस्थित परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् । कुनै द्विपक्षीय मुद्दा र एजेन्डामा भ्रमण केन्द्रित नभए पनि उच्चस्तरीय बैठकमा आपसी हितका केही विषयमा भ्रमणका क्रममा छलफल हुने जनाइएको छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेट गर्नुका साथै नेपाली समकक्षी सेवा लम्सालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

त्यसैगरी, अमेरिकाको सञ्चार र व्यवस्थापन तथा स्रोतका उपसचिव रिचर्ड आर वर्मा पनि अगस्टको मध्यमा काठमाडौंको भ्रमण गर्दैछन् ।

ओली प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुनेछन् ।

यसैवर्ष अप्रिलमा रिपब्लिकन कांग्रेसका ब्रायन मास्टले अमेरिकी सरकारले नेपालमा नास्तिकतालाई बढावा दिन आधा मिलियन अमेरिकी डलर खर्च गरेको दाबी गरेपछि वर्मा चर्चामा आएका थिए ।