कांग्रेस बैठकमा सरकारबारे गृहमन्त्री लेखकको ‘ब्रिफिङ’

कांग्रेस बैठकमा सरकारबारे गृहमन्त्री लेखकको ‘ब्रिफिङ’


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र एमालेबीच भएको सत्ता समीकरणबारे पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेका छन् ।

बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठकमा गृहमन्त्री लेखकले वर्तमान सरकार निर्माणको प्रक्रियाका साथै त्यसका सम्भावना र चुनौतीबारे ब्रिफिङ गरेका छन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट कांग्रेसले धोका पाएर कांग्रेस विपक्षमा पुगेपछि सभापति देउवाले सुजबुजपूर्ण रूपमा दीर्घकालीन सोचका साथ नयाँ समीकरण निर्माणको विषयलाई नेतृत्व दिएको गृहमन्त्री लेखकले बताए । ‘नेपाली कांग्रेस सबैभन्दा ठूलो हुँदाहुँदै पनि संघमा मात्र होइन, ७ वटै प्रदेशमा विपक्षमा बस्नुपर्ने परिस्थिति पार्टीका साथीहरूका लागि, सबै लोकतन्त्रवादी जनताका लागि पीडादायी विषय भयो । पछिल्लो समयमा पार्टी सभापति माननीय शेरबहादुर देउवाजीले अत्यन्त सुजबुज राखेर दीर्घकालीन सोचका साथ नयाँ समीकरण निर्माणको विषयलाई नेतृत्व दिनुभयो । हामी नयाँ समीकरणमा लाग्यौं,’ उनले भने ।

एमालेसँग पटक–पटकको वार्ता र संवादबाट असार १७ गते कांग्रेस र एमालेका बीचमा नयाँ समीकरण बनाउने सहमति भएको गृहमन्त्री लेखकको ब्रिफिङ थियो । ‘७ बुँदे सहमति पत्रमा माननीय शेरबहादुर देउवा र माननीय केपी शर्मा ओलीजीले हस्ताक्षर गर्नुभयो । त्यसपछि यो सरकार बन्ने मार्गप्रशस्त भयो । हामीले सरकार गठन गर्‍यौं,’ उनले भने ।

गृहमन्त्री लेखक बैठकमा कांग्रेस र एमालेबीच नयाँ समीकरणका लागि भएको ७ बुँदे सहमति पढेर सुनाएका थिए । उनले वर्तमान सत्ता सरकारका सबल पक्ष प्रस्तुत गरे । ‘राष्ट्रिय स्वार्थको सुरक्षा गर्ने, स्थिर सरकार दिने, शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणका कामलाई द्रूतगतिमा अगाडि बढाउने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, विधिको शासन स्थापित गर्ने, देशभित्र र बाहिरको लगानीको वातावरण बनाएर मुलुकमा मर्यादित रोजगारीको व्यवस्था गर्ने लगायतका सम्भावना छन्,’ उनले बैठकमा भने ।

देशमा दीगो शान्ति, विकास, समृद्धि प्राप्त गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने सुदृढ गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।

कांग्रेस—एमालेको समीकरणले संविधान संशोधन गर्ने गृहमन्त्री लेखकले बताए । ‘संविधान जारी भएको ९ वर्ष भइसकेको छ । यो ९ वर्षमा संविधानको अभ्यासको प्रयोगमा देखापरेका सबल र दर्बल पक्षको समीक्षा गरेर संविधानको जटिलतालाई पहिचान गरी आवश्यकता अनुसार सहमतिकै आधारमा संविधान संशोधन गर्ने लगायतका कुरा छ,’ उनले भने ।

गृहमन्त्री लेखकले कांग्रेस र एमालेको समीकरणलाई असफल भए मुलुक दुरावस्थामा जाने खतरा रहेको बताए ।

‘हामी जुन (कांग्रेस–एमाले समीकरण) प्रयोगमा प्रवेश गरेका छौं । यो प्रयोगले यदि असफल भयो भने मुलुक अत्यन्त दूरावस्थामा जान सक्छ,’ उनले भने, ‘त्यसैले अहिलेको समीकरणलाई बदल्ने, फेर्ने, भत्काउने काममा हामी लाग्नु हुँदैन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति पनि दृढतापूर्वक यसका पक्षमा उभिनुपर्छ ।’

कांग्रेस र एमालेको समीकरण बनेपछि सकारात्मक प्रभाव र परिणाम देखिएको गृहमन्त्री लेखकले बैठकमा सुनाए । उनले भने, ‘अहिले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । सकारात्मक परिणाम देखिएका छन् । हामीले आज मात्रै संक्रमणकालीन न्याय सम्बन्धि विषय शान्ति प्रक्रियाको टुंगिन बाँकी रहेको बेपत्ता पारिएकाहरूको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनलाई संशोधन गर्ने विधेयकलाई ऐतिहासिक ब्रेक थ्रू गरेका छौं । ठूला राजनीतिक दलहरू मिल्दा मुलुकमा बलियो सरकार हुँदा त्यसले जुन आत्माविश्वास बढाउँछ, जुन वातावरण निर्माण गर्छ । १८ वर्षदेखि पूरा हुन नसकेका र ९ वर्षदेखि कानून नै बन्न नसकेको विषयलाई पनि हामीले थेरै दिनमा ब्रेक थ्रू गर्‍यौं । यो अहिलेको समीकरणको उपलब्धि हो । राम्रा कामहरू गर्दै जानुपर्छ ।’

सत्ता समीकरणमा सबै कुरा सहज ढंगले अगाडि बढेको उनको भनाइ थियो । ‘केन्द्रमा हामीले सरकार बनायौं । मन्त्रालयकै लागि भागबण्डा र कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा महिनौं झगडा हुन्थ्यो । हामीले अत्यन्त कम समयमा मन्त्रालयको बाँडफाँट टुंग्याएर मन्त्रीको नियुक्ति गर्‍यौं । सातै प्रदेशमा पनि कुनै विवाद नभइकन हामीले सरकार निर्माण गर्‍यौं,’ उनले भने, ‘अरु पनि केही नियुक्तिहरू विवाद नभइकन आपसी सहमतिले टुंग्यायौं । अहिलेको समीकरणमा कांग्रेस र एमालेका बीचमा असल सम्बन्ध छ । कुनै समस्या छैन । समीकरणमा विश्वासको वातावरण छ । यसलाई निरन्तरता दिनुपर्छ ।’