त्रिवि स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो (सूचनासहित)

त्रिवि स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो (सूचनासहित)


काठमाण्डु-त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८१–०८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो ।

वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरिएको हो । साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने म्याद दिइएको छ ।

असोजदेखि कक्षा सञ्चालन हुनेछ भने २०८२ वैशाखमा परीक्षा फाराम बुझाउने समय राखिएको छ । यस्तै २०८२ को जेठमा कक्षा समाप्त हुनेछ । अन्तिम परीक्षा २०८२ को असारमा हुनेछ भने २०८२ को असोजमा नतिजा प्रकाशन गरिनेछ ।

विद्यार्थीले प्रवेश चाहेको प्रत्येक सङ्काय अध्ययन संस्थान र विषय अनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनु पर्नेछ शिक्षाध्यक्षको कार्यालयले जनाएको छ ।

प्रकाशित शैक्षिक तालिका अनुसार विद्यार्थी भर्ना, कक्षा सञ्चालन र परीक्षा सञ्चालन समेत गर्न गराउन सम्बन्धित निकायहरूलाई जानकारी गराउन समेत भनेको छ ।