उपचारका लागि अस्पताल लैजाँदा फरार भएका कैदी पक्राउ

उपचारका लागि अस्पताल लैजाँदा फरार भएका कैदी पक्राउ


विराटनगर – उपचारको क्रममा कोशी अस्पताल विराटनगरबाट फरार भएका कैदी बिहीबार पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका कैदी अस्पतालबाट साउन १७ गते फरार भएका थिए ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार विराटनगर उपमहानगरपालिका–८ निवासी २४ वर्षीय मोहम्मद अहमदलाई जबरजस्ती करणी मुद्दाको कसूरमा जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

फरार कैदीलाई खोजतलास गर्ने क्रममा बिहीबार मोरङको जहदा गाउँपालिका–१ तारेगामास्थित नेपाल–भारत सीमा नजिकबाट ईलाका प्रहरी कार्यालय रानीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका कैदीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।