काठमाण्डु – आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी हसिना शेखका छोरा सजीव वाजेदले बंगलादेशको राजनीतिमा आउन आफू इच्छुक रहेको बताएका छन् ।
आमाले नेतृत्व गरेको अवामी लिग पार्टीलाई बचाउन आफू राजनीतिमा आउने धारणा वाजेदले टाइम्स अफ इण्डियासँगको अन्तर्वार्तामा व्यक्र गरेका छन् ।
अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेका वाजेदले टेलिफोनमार्फत दिएको अन्तर्वातामा अवामी लिग पार्टी र यसमा कार्यरत व्यक्तिहरूलाई जोगाउन राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको बताएका हुन् ।
राजनीतिमा आफ्ना आवश्यकता रहे आफू पछि नहट्ने वाजेदले बताएका छन् । राजनीति गर्ने कहिल्यै इच्छा नभएकाले अमेरिकामा बस्न पुगे पनि पछिल्लो घटनाक्रमले बंगलादेशमा नेताको आवश्यकता रहेको महसुस गरेर राजनीतिमा होमिने तयारी गरेको उनले अन्तर्वातामा उल्लेख गरेका छन् ।
हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर निर्वासित भएको तेस्रो दिन बंगलादेशमा नोबल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा बिहीबार राति १७ जनाले शपथ लिएका छन् ।
देशभरबाट लाखौं आन्दोलनकारीहरू ढाका पुगेर प्रधानमन्त्री निवास घेर्न थालेपछि हसिना गत सोमबार देशै छाडेर भागेकी हुन् । हसिना अहिले भारतको शरणमा छिन् ।
हसिनालाई प्रधानमन्त्रीबाट राजीनामा दिन र देश छोड्न पनि वाजेदले सुझाएका थिए । वाजेदसँग कुरा गरेपछि मात्रै हसिना राजीनामा दिन र देश छाड्न तयार भएकी थिइन् । त्यो विषय पनि वाजेदले अन्तर्वातामा खुलाएका छन् ।
प्रतिक्रिया