उद्योगमन्त्री भण्डारीद्वारा श्याम मुखर्जी पोर्टको अवलोकन

उद्योगमन्त्री भण्डारीद्वारा श्याम मुखर्जी पोर्टको अवलोकन


काठमाण्डु – भारत भ्रमणमा रहेका नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपर्तिमन्त्री दामोदर भण्डारीले भारतको हल्दियास्थित श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा उनले पोर्टका पदाधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गरेका छन् ।

अवलोकन भ्रमणमा वाणिज्य मन्त्रालयका द्विपक्षीय महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारी तथा कोलकत्तास्थित महावाणिज्य दूतावासका पदाधिकारीहरू लगायतको उपस्थिति थियो ।

तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्याहरू, आयातकर्ता र निर्यातकर्ताका समस्याका विषयमा जानकारी लिई कोलकत्तास्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरी परिणाममुखी भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिए ।

उनले नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडले हल्दिया पोर्ट इन्टेरियर जोनभित्र दीर्घकालीन रूपले लिजमा लिएको जमिनको उपयोग, थप सम्भावनाहरू एवं औचित्यबारे समेत गहन छलफल गरी कम्पनीको कार्यालय अनुगमन गर्दै आवश्यक निर्देशन दिए ।