रातभर वर्षा भएपछि उपत्यकामा बाढीको जोखिम बढ्यो

रातभर वर्षा भएपछि उपत्यकामा बाढीको जोखिम बढ्यो

तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह


काठमाण्डु-शनिबार रातिदेखि परेको भारी वर्षापछि उपत्यकामा बाढीको जोखिम बढेकोछ ।

आइतबार बिहानसम्मै काठमाडौं उपत्यकाको बुढानीलकण्ठ र आसपास भारी वर्षा भएकाले विष्णुमती, धोबीखोला आसपास बाढी आएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।

महाशाखाले यी नदीमा पानीको सतह सतर्कता तहभन्दा माथी पुग्नसक्ने भन्दै बिहान १० बजेसम्म नदी तटीय क्षेत्रमा बसोबास गर्ने र करिडोर सडकबाट यात्रा गर्नेलाई सचेत गराएको हो ।

मकवानपुर र आसपासमा भएको वर्षाले लाल बकैया खोला, ढुधारा खोला, पूर्व राप्ती नदी र यसका सहायक खोलामा आकस्मिक बाढीको जोखिम बढेको छ ।

महाशाखाले मकवानपुरको रजैया, चिसापानीगढी, हात्तीसूडे, बाराको अमलेखगञ्ज वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने पूर्वी राप्ती नदी र साना खोलामा एक्कासी बाढी आउन सक्ने बताएको छ ।

सिन्धुपालचोकको गोब्रे, बाँसखर्क, बाउनेपाटी, धाप, भोटाङ, मानेखर्क भइ बहने नदीमा बाढी आउने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएको भन्दै आसपासका नागरिकलाई सावधानी अपनाउनसमेत बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अहिले कोशी प्रदेशका सोलुखुम्बु, सङ्खुवासभा, धनकुटालगायतका जिल्लासहित बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । आज दिउँसो पनि कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।