दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक


सुर्खेत-मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्ले लोगो, मस्कट र गीतसँगै एक सय दिनको काउन्टडाउन पनि सुरु गरेको छ । लोगोमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने रङ, राष्ट्रिय चरा डाँफे, राष्ट्रिय झण्डा र कर्णाली नदीलाई समेटिएको छ । मस्कटमा कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा राखिएको छ ।

परिषद्का सदस्यसचिव विश्वामित्र संज्यालले अबको एक सय दिनभित्र मुख्य पाँच वटा कामहरू गरिने बताए । उनले दशौं खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम असोजभित्रमा सम्पन्न हुने बताए ।

दशौं राष्ट्रिय प्रतियोगिताका लागि कर्णालीमा २४ खेलहरू खेलाइनेछ । बाँकी खेलहरू भने प्रदेश बाहिर आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस गरिएको संज्यालले जानकारी दिए ।

कर्णालीका १० जिल्लामध्ये अधिकांस खेलहरू सुर्खेतमा हुने भए पनि केही खेल हिमाली र पहाडी जिल्लामा पनि आयोजना हुनेछन् । राष्ट्रिय सडक सञ्जालको पहुँच पनि नपुगेको हुम्लामा समेत दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरू हुनेछन् । परिषद्ले हुम्लामा हक्की खेल खेलाउने तयारी गरेको छ । २०४३ सालमा राष्ट्रिय जुडो खेल हुम्लाले आयोजना गरेको थियो । यो पटक हुम्लामा हक्की खेलको आयोजना हुनेछ ।

यस्तै मुगुको रारातालनजिकै कबड्डी प्रतियोगिता हुनेछ । दुई महिनाअघि परिषद्ले रारातालमा कबड्डी प्रतियोगीताको सफल आयोजना गरिसकेको छ ।

केही खेलहरू जुम्ला, कालिकोट, दैलेख र रुकुम पश्चिममा आयोजना हुनेछन् ।

परिषद्ले प्रतियोगिताको उद्घाटन हुनुभन्दा ६ दिन अगाडि नै खेलकुदका खेलहरू सञ्चालन गर्ने जनाएको छ । सुर्खेतमा भने १६ वटा खेल खेलाइनेछ । प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेश रंगशालासहित दुई वटा क्रिकेट मैदान, एक रग्बी मैदान, फुटबल मैदानलगायतका संरचना तयारी अवस्थामा छन् । केही खेलहरू सुर्खेतको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रमा खेलाइने योजना परिषद्को छ । परिषद्ले विभागीय खेलाडीहरूको बसोबासको व्यवस्था सम्बन्धित निकायलाई नै जिम्मेवारी दिनेगरी प्रस्ताव गरेको छ ।

भदौबाट प्रदेशस्तरीय छनोट र क्लोज क्याम्पमा राख्ने तयारी गरेको छ । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफ्नो पहिलो नीतिगत निर्णयमै खेलकुद संरचना निर्माण, खेलाडी छनोट र प्रशिक्षणका लागि आवश्यक पर्ने १६ करोड रूपैयाँ बजेट माग गर्ने निर्णय गरेका छन् ।