काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी महासचिव बन्न चाहन्थे नेता जनार्दन शर्मा । तर महाधिवेशनमा प्रतिस्पर्धात्मक निर्वाचन नहुँदा शर्मा महासचिव पदमा भिड्न पाएनन्, सर्वसम्मत अध्यक्ष निर्वाचित भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोजाइँमा परे देव गुरुङ ।
ऊर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्यका लागि नतिजामुखी भूमिका खेलेको श्रेय पाएर शर्मा जनस्तरसम्मै लोकप्रिय हुँदै गइरहेका थिए । तर पार्टीमा उनलाई रोक्ने खेलमा प्रचण्ड लागे । शर्मा महासचिव बन्न खोज्दा उनलाई रोकेर गुरुङलाई महासचिव बनाइयो ।
नेकपा माओवादी विभाजन हुँदा गुरुङ नेता मोहन वैद्य ‘किरण’सँग लागेका थिए । पार्टी फुटाएर फेरि माओवादीमा फर्किएका कारण माओवादीभित्र गुरुङको प्रभाव घटेको थियो, त्यस्तै कमजोर नेतालाई टिपेर प्रचण्डले महासचिव बनाए तर पार्टीभित्र जबरजस्त पकड बनाएका शर्मालाई उपमहासचिवमै खुम्च्याइयो ।
उनी त्यसबाट असन्तुष्ट थिए । अखिल क्रान्तिकारीको कार्यक्रममा उनले आफू संगठन विभाग प्रमुखको हैसियतले कार्यक्रममा आएको भन्दै पार्टी अध्यक्ष प्रचण्डकै अघि असन्तुष्टि पोखेका थिए ।
पार्टी सत्ताको नेतृत्वमा पुगेपछि प्रचण्ड सदैव नेतृत्वमै रहेका छन् । उनी ३५ वर्षको उमेर हुँदा नेकपा मशालको महामन्त्री भएका थिए । उतिबेला महामन्त्री नै प्रमुख नेतृत्वको पद थियो । त्यसयता उनी लगातार पार्टी नेतृत्वमै छन् ।
पार्टीमा प्रभाव बढाउन सक्ने नेतालाई पछार्ने र पार्टीबाट लखेट्ने प्रवृत्ति प्रचण्डले देखाउँदै आएको माओवादी नेताहरू नै बताउँछन् । सशस्त्र द्वन्द्व छाडेर मूलधारको राजनीतिमा आएपछि प्रचण्डले असहज स्थिति बनाउँदा डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ जस्ता जुझारु नेतृत्व अहिले माओवादीभन्दा बाहिर छन् ।
निशानामा जनार्दन ?
संसदीय राजनीति हेर्दा स्वयं प्रचण्डले चुनाव जित्न निर्वाचन क्षेत्र फेर्दै हिँड्नुपरेको छ । कहिले चितवन, कहिले रुकुम–रोल्पा त कहिले गोरखा पुगेर संसदीय राजनीतिलाई अगाडि बढाउने अवस्थामा छन् प्रचण्ड । तर नेताद्वय जनार्दन शर्मा, शक्ति बस्नेत र वर्षमान पुन भने एउटै क्षेत्रबाट लगातार चुनाव जित्दै आएका छन् ।
पार्टीभित्र नेताद्वय शर्मा र पुनको प्रभाव देशैभर छ । पार्टीका युवा नेताहरू शर्मा वा पुनसँग निकट छन् । त्यसैले अध्यक्ष प्रचण्डले यी दुवै नेतालाई अगाडि बढ्न रोक्दै आएको देखिन्छ । पार्टी महाधिवेशनमा निर्वाचन भएमा चुनाव जितेरै नेतृत्वमा पुग्ने क्षमता राख्छन् जनार्दन शर्मा तर प्रचण्डले चुनाव हुन दिँदैनन् । त्यसैले यसपालि नेता शर्माले खुलेरै पार्टीभित्रको समस्यालाई उजागर गरेका छन् ।
पार्टीभित्रको बढ्दो प्रभाव र नेतृत्वको खुलेर आलोचना गर्ने गरेका कारण शर्मा यतिबेला प्रचण्डको निशानामा परेका छन् । पार्टी विभाजन गर्न खोजेको आरोप लगाइएको विषय स्वयं जनार्दनले नै स्थायी समिति बैठकमा राखिसकेका छन् ।
अर्काेतिर जनार्दनलाई सिध्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत मुद्दा लगाउन खोजिएको चर्चा समेत छ । सुरक्षण मुद्रण केन्द्रमार्फत् अन्तःशुल्क छपाइमा भ्रष्टाचार हुँदा मन्त्री रहेका शर्मालाई पनि फसाउनुपर्ने भित्री चाहना माओवादी नेतृत्वको भए पनि अख्तियारले प्रत्यक्ष प्रमाण फेला नपार्दा शर्मालाई प्रतिवादी नबनाइएको उच्च स्रोतले जनाएको छ । यो विषयले माओवादीभित्र चर्चा पाएको छ । शर्माले अख्तियार प्रमुख प्रेम राईसँग समेत टेलिफोन संवाद गरेको स्रोतको दाबी छ ।
शर्माको प्रस्तावमा के छ ?
पार्टीको जारी स्थायी समिति बैठकमा उपमहासचिव शर्माले पार्टी नेतृत्वको सन्दर्भमा आलोचनात्मक प्रस्ताव राख्दै नेतृत्व परिवर्तन हुनुपर्ने भनेका छन् । नेतृत्व पुस्तान्तरण गरेर अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्नुपर्ने प्रस्ताव शर्माको छ । हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कूलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको प्रस्ताव छ । त्यो पनि नभए हालको केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्न पनि शर्माले प्रस्ताव गरेका छन् । तर दशकौंदेखि सत्तामाथि कब्जा जमाएर बसेका प्रचण्ड नेतृत्व पुस्तान्तरण वा निर्वाचन गराउन सहजै तयार होलान् ? यो प्रश्न सान्दर्भिक छ ।
उपमहासचिव शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १२ पृष्ठ र ‘फुटबारे चलाइएका हल्ला’ शीर्षकमा २ पृष्ठ लामो प्रस्ताव राखेका छन् । तर नेपाली राजनीतिको प्रवृत्ति हेर्दा नेतृत्व र आन्तरिक कमजोरी औंल्याएका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री मुलुक ढकालले पदमुक्त हुनुपरेको छ । पार्टीभित्रका समस्याबारे खुलेरै बहसमा उत्रिएका जनार्दनले पनि मुलुककै नियती भोग्नुपर्ने त होइन ? आशंका उब्जिन थालेको छ ।
के भन्छन् प्रचण्ड ?
प्रचण्डले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भनेर सार्वजनिक रूपमा बताउने गरेका छन् । तर साँच्चिकै नेतृत्व हस्तान्तरण गर्न प्रचण्ड तयार देखिँदैनन् । आठौं महाधिवेशनबाट अध्यक्ष बनेपछि प्रचण्डले ‘अन्तिमपटक’ अध्यक्ष बनेको बताएका थिए । त्यसपछि प्रचण्डले कहिले कांग्रेसतिर त कहिले एमालेतिर मिलेर प्रधानमन्त्री बन्दै २ वर्ष गुजारेका छन्, पार्टी निर्माणमा प्रचण्डले ध्यान दिन सकेनन् ।
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ गठबन्धन बनाएपछि फुर्सदिला भएका प्रचण्डले अहिले माओवादी आन्दोलनको एकीकरण, पार्टी निर्माण लगायत विषयमा छलफल थालेका छन् । तर फुर्सद पाएका बेला मात्रै गरिने यस्ता गफले नेतृत्व नै परिवर्तन गरिहाल्ने सम्भावना स्पष्ट छैन ।
उपमहासचिव शर्माले माओवादीकै बलमा नभई कहिले कांग्रेस त कहिले एमालेतिर मिलेर चुनाव लड्ने र सरकार बनाउने गर्दा पार्टी शुन्यतातिर गएको गुनासो गरेका छन् । एमाले र माओवादी मिलेर नेकपा बनाउँदा उपमहासचिव शर्माले पनि सकारात्मक भूमिका खेलेका थिए तर प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीसँग मनमुटाव गर्दा एकता धेरै टिक्न सकेन । नेकपा एकता भंग भएकोप्रति शर्माको गुनासो थियो । पछिल्लो समय कांग्रेससँग चुनावी गठबन्धन गरिसकेपछि आफू प्रधानमन्त्री बन्न प्रचण्डले एमालेसँग मिल्न जानु उचित नभएको बुझाइ पनि शर्माको छ ।
प्रतिक्रिया