काठमाण्डु – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुट्ने हल्ला गलत र निराधार भएको स्पष्ट पारेका छन् ।
पार्टी कार्यालयमा जारी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी फुटाउँछ भन्या जस्तो विषय नभएको बताए ।
उनले भने, ‘केही समयदेखि पार्टी फुट्छ भनेर धेरै हल्ला भए । कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए । यहाँ आउँदासम्म ती सबै भ्रम चिरिएका छन् । कमरेड प्रभाकरले पार्टी फुटाउँछ भन्या जस्तो जुन माहोल बनेको छ, त्यो बिलकुल गलत हो । हाम्रो पार्टी एकताबद्ध भएको छ ।’
उपमहासचिव शर्माले लगाएको आरोप पनि हल भइसकेको उनको दाबी छ । ‘ती आरोपहरू सबै हल भइसक्यो,’ उनले भने ।
अध्यक्ष दाहालले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पीडितमैत्री बनाउने प्रयास गरिएको बताए । उनले परिपुरण र सम्मानजस्ता कार्यक्रम विधेयकमा राखिएको भन्दै पीडित सबैलाई ढुक्क हुन अपिल गरेका छन् ।
उनले भने, ‘लामो समय लगाएर टीआरसी विधेयकलाई पीडितमैत्री बनाउने प्रयास गरिएको छ । यसले पीडितहरूको मागलाई राम्रै सम्बोधन गरेको छ । पीडित संघसंस्था र साथीहरूलाई म ढुक्क रहन अपील गर्दछु । यसलाई हामी सबै मिलेर दृढतापूर्वक कार्यान्वयनमा लैजानुपर्नेछ । त्यसका लागि राम्रो आयोग बनाउन जरुरी छ । पीडितका लागि परिपुरण, सम्मान सबै कार्यक्रम राखिएको छ । त्यसैले अन्यथा नसोचौं ।’
प्रतिक्रिया