काठमाण्डु– भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घट्ना दुःखद् भएको बताउँदै गृहमन्त्रीको निर्देशनअनुसार छानबिन समिति गठन गरी घट्नाको सत्यतत्थ छानबिन गर्ने बताएकी छिन् ।
उनले आज ट्रकका मालिकलाई काठमाडौँ बोलाएको र मृतकका परिवारलाई पनि सम्पर्कमा ल्याएर छलफल गर्ने बताइन् । शव परीक्षणका काम अगाडि बढाउन आवश्यक पहल भइरहेको प्रजिअ श्रेष्ठले बताइन् । उनले हिजो सञ्चारमाध्यममा आएको जस्तो ट्राफिक प्रहरीको कमजोरी नभएको बताउँदै गलत सूचना प्रवाह हुँदा समस्या भएको स्पष्ट पारिन् ।
उनले घट्नामा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने, ड्युटीमा खटिएका ट्राफिक प्रहरीको पोशाक च्यातेर हातपात गर्नेलाई पक्राउ गरि कारबाही गर्ने बताइन् । सत्यतथ्य नबुझी ट्राफिक प्रहरी माथि रिस साँध्न खोजिएको उनको भनाइ छ ।
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका‐४ छहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियाे ।
प्रतिक्रिया