काठमाण्डु-भारतबाट पेट्रोल र डिजेलजस्तै एलपीजी अर्थात् खाने पकाउने ग्यास आयात गर्ने नेपालले तयारी थालेको छ ।
पाँच वर्षअघि पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याएका नेपाल र भारतले ग्यास ढुवानीका निम्ति पनि त्यस्तै खालको अर्को पाइपलाइन बनाउने छलफल अघि बढाएको छ ।
भारतबाट नेपालमा ग्यास आयातका लागि बनाइने पाइपलाइनबारे प्रारम्भिक अध्ययन समेत दुई देशले गरेको छ ।
वाणिज्यमन्त्री दामोदर भण्डारी गत साता बिम्स्टेकको व्यापार सम्मेलनमा सहभागी हुन भारत पुगेका थिए । त्यस क्रममा भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग दिल्लीमा भेटवार्ता गरेका थिए । भेटमा आपूर्तिमन्त्री भण्डारी र भारतका ग्यासमन्त्रीबीचको भेटवार्तामा पनि त्यस विषयमा थप छलफल भएको छ । ग्यास पाइपलाइन बनाउने नेपालको प्रस्तावलाई भारतीय मन्त्रीले सकारात्मक रूपमा लिएका छन् ।
नेपाल आयल निगमका अधिकारीहरूले पाइपलाइनमाफत् ग्यास ढुवानी गर्दा नेपालको अर्बौँ खर्च जोगिने बताएका छन् । यद्यपि निगमका अधिकारीहरू अब द्विपक्षीय संयुक्त संयन्त्रहरूका बैठकमा उक्त विषयले प्रवेश पाउनेमा ढुक्क देखिएका छन् । ग्यास ढुवानीका लागि अहिले वार्षिक ६ अर्ब रुपैयाँ लाग्ने गरेको छ ।
उनीहरूका भनाइमा केही वर्ष पहिलेदेखि अघि बढाइएको योजना भएकाले भारतीय पक्ष पनि यसमा निकै सकारात्मक देखिएको छ । भेटमा भारतीय मन्त्री पुरीले भारतीय अनुदानमा सिलगुडी–झापा र अमलेखगञ्ज–चितवन पाइपलाइन बनाइदिनेबारे सकारात्मक जवाफ दिएको निगमका अधिकारीहरू बताउँछन् ।
अध्ययन प्रतिवेदनअनुसार भारतको बिहारस्थित मोतिहारीको भारतीय आयल निगम (आईओसी)को रिफाइनरी तथा भण्डारण केन्द्रबाट नेपालको सर्लाहीसम्म पाइपलाइन विस्तार गरिनेछ । आईओसीले उक्त स्थानमा हाल भण्डारण केन्द्र तथा रिफाइनरी बनाइरहेको छ ।
तर सर्लाहीमा नेपाल आयल निगमको कुनै भण्डारण केन्द्र तथा ‘बोटलिङ प्लान्ट’ छैन । यद्यपि निगमले त्यहाँ करिब १६ बिगाहा जग्गा किनेर राखेको छ र भण्डारण केन्द्र बनाउने योजना अघि सारेको छ ।
अन्तरदेशीय पाइपलाइनको कुल लम्बाइ १३०.९५३ किलोमिटर हुनेछ भने निर्माण सम्पन्न भएपछि त्यसको आयु २५ वर्षको हुनेछ ।
भारतको बिहार राज्यभित्र ३२.६५ किलोमिटर र नेपालको मधेश प्रदेशभित्र ९८.२९९ किलोमिटर पाइपलाइन बनाउनुपर्ने अध्ययनले देखाएको छ ।
दैनिक आठ घण्टा सञ्चालन गर्न मिल्ने प्रस्तावित पाइपलाइन ४५ किलोमिटर वन क्षेत्रमा पर्ने प्रक्षेपण गरिएको छ ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन बनाउन कुल १५ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।
वाणिज्य मन्त्रालयका अधिकारीहरूले बताएअनुसार नेपालले भारतीय अनुदानमा नै त्यो पाइपलाइन निर्माण होस् भन्ने चाहेको छ तर भारतीय पक्षले हालसम्म त्यसबारे स्पष्ट जवाफ दिएको छैन ।
भारतबाट अहिले पनि नेपालमा ग्यास आयात गर्दा भारतीय ग्यास बुलेटहरूको प्रयोग हुने गरेको छ । नेपाली बुलेटहरूले सुरक्षासम्बन्धी मापदण्डहरू पूरा गर्न नसकेको भन्दै भारतले ग्यास भण्डारण केन्द्रसम्म ती बुलेटहरूलाई लैजान नदिएपछि स्वदेशी बुलेटबाट आयात गर्नका लागि गरिएका केही प्रयासहरू असफल भएको छ ।
नेपालमा मासिक रूपमा ४५ देखि ५० हजार मेट्रिक टन ग्यास आयात हुने गर्छ । अहिले नेपालले काठमाण्डुबाट सबैभन्दा नजिकको केन्द्र बरौनीस्थित रिफाइनरीबाट ग्यास भरेर ल्याउँदै आएको छ । बरौनी काठमाण्डुबाट ६०० किलोमिटरको दूरीमा पर्छ । त्यसबाहेक कोलकातानजिकैको हल्दिया र दिल्ली नजिकैको मथुरा तथा उडिसाको पाराद्वीपबाट पनि नेपालमा ग्यास ल्याइन्छ ।
प्रतिक्रिया