काठमाण्डु-भारतको पश्चिम बङ्गालको राजधानी कोलकातामा एक जना महिला चिकित्सकको बलात्कार र हत्या भएपछि डाक्टरहरूले भारतभरि आम हड्तालमा उत्रिएका छन् ।
भारतीय डाक्टरहरूको संगठन इन्डियन मेडिकल एसोसिएसन (आईएमए)ले अत्यावश्यक बाहेकका सबै सेवा आज बन्द गरी हड्तालमा उत्रेका हुन् ।
आईएमएले गत शुक्रवार भएको घटनालाई महिलाका लागि सुरक्षित ठाउँको अभावमा भएको बर्बर अपराध भन्दै न्यायको लडाइँमा साथ दिन देशवासीहरूलाई आह्वान पनि गरेको छ ।
महिला चिकित्सकमाथि बलात्कार र हत्या भएको अस्पतालमा गत बुधवार एउटा भीडले तोडफोड गरेपछि महिलाहरूका लागि बलियो सुरक्षाको माग गर्दै पछिल्ला दिनहरूमा भारतभरि प्रदर्शनहरू चर्किएका छन् ।
आईएमएले शनिवार आह्वान गरेको २४ घण्टे हड्तालमा पनि अत्यावश्यक र दुर्घटनासम्बन्धी उपचार भने जारी रहने जनाएको छ । आईएमएले स्वास्थ्यकर्मीहरूमाथि हुने हिंसाबाट सुरक्षाका लागि कानुनी सुधार, अस्पतालहरूमा सुरक्षा व्यवस्थामा सुदृढीकरण र आरामका लागि सुरक्षित ठाउँ बनाइनुपर्ने लगायतका माग सार्वजनिक गरेको छ ।
उक्त हत्याको सूक्ष्म र व्यावसायिक अनुसन्धान गर्न पनि उसले माग गरेको छ । साथै अस्पतालमा भएको तोडफोडमा संलग्नहरूमाथि कारबाही र महिलाको परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।
कोलकतामा जना ३१ वर्षीय प्रशिक्षार्थी चिकित्सकमाथि गत शुक्रवार बलात्कार पछि हत्या भएको हो । आफ्नो सिफ्ट सकेर आराम गर्न गएकी ती महिला चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो ।
घटनामा संलग्न भएको आशङ्कामा अस्पतालमा स्वयंसेवकको काम गर्न आएका एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
हत्याको अनुसन्धान गर्ने जिम्मा भारतको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई दिइएको छ ।
प्रतिक्रिया