चीनमा युवा बेरोजगारी दर बढ्यो

चीनमा युवा बेरोजगारी दर बढ्यो


काठमाण्डु – चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ, जुन यस वर्षकै सबैभन्दा उच्च हो ।

राष्ट्रिय तथ्यांक विभागको तथ्यांक अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरुको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत रहेको थियो ।

युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरूमध्ये एउटा हो । एनबीएसले सार्वजनिक गरेको तथ्यांकअनुसार देशमा २५–२९ वर्ष उमेरका युवामा बेरोजगारी दर अघिल्लो महिना ६.४ प्रतिशतबाट बढेर जुलाईमा ६.५ प्रतिशत पुगेको छ ।

यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई ‘शीर्ष प्राथमिकता’ राखेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

जुन महिनामा ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ ।