रुसको रणनीतिक महत्वको अर्को पुल ध्वस्त पारेको युक्रेनको दाबी

रुसको रणनीतिक महत्वको अर्को पुल ध्वस्त पारेको युक्रेनको दाबी


काठमाण्डु-युक्रेनले रुसको कुस्र्क क्षेत्रमा रणनीतिक महत्व भएको दोस्रो पुल पनि ध्वस्त पारेको दाबी गरेको छ । त्यस क्षेत्रमा आकस्मिक आक्रमण गरेपछि युक्रेनले त्यहाँ सैन्य कारबाहीलाई निरन्तरता दिएको छ ।

युक्रेनी सेनाले ज्भानेस्थित सेम नदीमा रहेको पुलमा गरिएको हमलाको हवाई भिडिओ सार्वजनिक भएको छ ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि धावा बोलेयता रुसी भूभागमाथि युक्रेनले गरेको सर्वाधिक ठूलो आक्रमण अब दुई साता पुग्न लागेको छ ।

गत साता युक्रेनले ग्लुस्कोभोनजिकै सेम नदीमा रहेको एउटा पुललाई नष्ट गरेको थियो । क्रेम्लिनले रुसी फौजका लागि सरसामान आपूर्ति गर्न उक्त पुलको प्रयोग गर्दै आएको थियो ।

यसअघि सैन्य विश्लेषकहरूले आफ्ना फौजलाई सामान आपूर्ति गर्न रुसले प्रयोग गरेका तीनवटा पुल त्यस क्षेत्रमा भएको पहिचान गरेका थिए । तीमध्ये दुइटा ध्वस्त भएका छन् वा तिनमा गम्भीर क्षति पुगेको रोएटर्स समाचारसंस्थाले जनाएको छ ।

युक्रेनी सैनिकहरू सीमा नाघेर रुसी भूभागमा प्रवेश गरेको दुई साता पुग्दा उनीहरू त्यहाँ बस्ने योजनामा रहेको स्पष्ट भएको छ ।