लोकतन्त्रमा कुनै असर नपर्ने गरी संविधान संशोधन हुनुपर्छ : नेता गच्छदार

लोकतन्त्रमा कुनै असर नपर्ने गरी संविधान संशोधन हुनुपर्छ : नेता गच्छदार


विराटनगर – नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री विजयकुमार गच्छदारले संघीय लोकतान्त्रिक गणतन्त्रको मुलभूत मान्यतामा कुनै असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाटमा उनले राजनीतिक स्थायित्व आउने गरी निर्वाचन प्रणालीमा सुधार गर्न पनि संविधान संशोधन आवश्यक रहेको उल्लेख गरे ।

उनले राजनीतिमा आइरहने उतारचढावका कारण मुलुकको विकास र समृद्धिमा अवरोध आइरहेको चर्चा गर्दै उनले भने, ‘सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ ।’

नेता गच्छेदारले संविधान संशोधन गर्दा समानुपातिक र समावेशी प्रतिनिधित्व हटाउने कुरा गलत अफवाह भएको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन हुनुपर्ने जिकिर गरे । उनले छुट्टै आयोग बनाएर संविधान संशोधन गर्नुभन्दा संसदीय समिति बनाएर संविधान संशोधन गर्दा उपयुक्त हुने धारणा व्यक्त गरे ।

फरक प्रसङ्गमा नेता गच्छेदारले २०७९ सालको निर्वाचनको परिणाम आएपछि नै आफूले राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने धारणा व्यक्त गरेको र उनले २ ठूला दल मिल्दा मुलुकमा राजनीतिक स्थिरता आई विकास र समृद्धिको यात्रा पूरा हुने भएकाले अहिलेको गठबन्धनलाई २०८४ सालको निर्वाचन सम्म जारी राख्नुपर्ने आवश्यकता औंल्याए ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितको मोर्चाले मुलुकमा ठूलठूला परिवर्तन गरेको बताउँदै वर्तमान संविधानलाई परिमार्जित र परिष्कृत बनाउन पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।