‘ओनामासीधङ, गुरूजी चितङ’–मैथिली–भोजपुरी क्षेत्रमा कमजोर गुरूजी (शिक्षक)हरूको मजाक उडाउनका निम्ति यस्तो भन्ने गरिन्छ । मैथिलीमा ‘चितङ’को अर्थ उत्तानो पर्नु हो । त्यसरी नै चौपट्ट मूर्खको निम्ति ‘भुसकौल’ शब्द प्रयोग गरिन्छ । मैथिली–भोजपुरी भाषिक समाजको विकासको इतिहासमा ओझेल परिसकेको बौद्धमतका ऐतिहासिक ‘कोड’ हुन् यी कवित्त र शब्दहरू ।
पौराणिक र बौद्धकालमा मिथिला वा विदेह, त्रिभुक्ति र मध्यकालमा तिरहुत र तेह्रोँतको नामले परिचित यस क्षेत्रको सीमा गण्डकीदेखी पूर्व र कोशीनदीदेखि पश्चिम, उत्तरमा शिवालिक (चुरे) पर्वत श्रृंखला र दक्षिणमा गंगा नदी भनिएको छ । रोचक के छ भने यसबाट भारतीय भाग कटाइदिने हो भने नेपालमा अहिलेको मधेश प्रदेशको सीमा ठ्याक्कै प्राचीन र मध्यकालीन मिथिलाको सीमासँग मिल्छ ।
सहजयान बौद्धमतको महायान शाखाको एउटा सम्प्रदाय हो । विद्वानहरूको मतानुसार सहजयानी चौरासीवटा सिद्धसन्तहरू मध्ये अधिकांश गंगाको पूर्वोत्तर, गण्डकीभन्दा पूर्व ब्रह्मपुत्र नदीसम्मको भूभागका थिए ।
‘ओनामासीधङ’ ओम नमः सिद्धंको अपभ्रंश हो, जो मध्यकालीन सिद्ध सन्तहरूको स्तुतिमा रचिएको मन्त्र हो । र, ‘भुसकौल’ सहजयानी ८४ सिद्धसन्त कवि मध्येको एक प्रसिद्ध सन्त कवि ‘भुसुकपा’लाई व्राह्मण धर्म र शैवलगायतले उपहास गरि बोलाइएको प्रतीकात्मक शब्द हो ।
सहजयान बौद्धमतको महायान शाखाको एउटा सम्प्रदाय हो । विद्वानहरूको मतानुसार सहजयानी चौरासीवटा सिद्धसन्तहरू मध्ये अधिकांश गंगाको पूर्वोत्तर, गण्डकीभन्दा पूर्व ब्रह्मपुत्र नदीसम्मको भूभागका थिए । सिद्धसन्तहरूको काव्यभाषा तत्कालीन लोकभाषा ‘अपभ्रंश’ थियो । यी अपभ्रंशहरू तत्कालीन प्राकृत र संस्कृतको साहचर्यबाट विकसित भएको थियो, जस्मा प्राकृतको अंश बढी थियो । भाषा वैज्ञानिकहरूका अनुसार यिनै अपभ्रंशका विविध क्षेत्रीय रूपबाट हालको मैथिली, भोजपुरी, अवधी, नेपाली, मगही, बंगाली, उडिया आदि हालका प्रचलित लोकभाषाहरू (नवभारोपीय आर्य भाषाहरू)को विकास भएको हो ।
सहजयानी सिद्धसन्त कविहरूको समय ईसाको आठौँ शताब्दीदेखी एघारौँ शताब्दीको पहिलो चतुर्थांश हो । त्यसपछि नाथसम्प्रदायको बढ्दो प्रभावका कारण यो ओझेलमा पर्दै गएको हो । सहजयानी बौद्धसम्प्रदायका प्रवत्र्तक को हुन् ? भन्ने बारे विद्वानहरूमा मतैक्य छैन । केहीले ‘लुइपा’ भनेका छन्, तर प्रसिद्ध विद्वान राहुल सांकृत्यायन लगायतका अधिकांश विद्वानहरूले ‘सरहपा’लाई सहजयानका प्रवत्र्तक मानेका छन् । मैथिली भाषा र साहित्यको विकासमा बीजकवि वा आदिकवि मानिने सरहपाको भाषा प्राचीन मैथिलीको अत्यन्त निकट देखिन्छ र अनेकौँ वाक्यांशहरूमैथिली नै बुझिन्छ ।
आफ्नो विशद् अनुसन्धानको क्रममा राहुल सांकृत्यायनले सिद्धसन्तका गीत र दोहाहरू तिब्बत र नेपालबाट खोजी गरेका थिए । राहुलभन्दा पहिले प्रख्यात बंगाली विद्वान महामहोपाध्याय हरप्रसाद शास्त्रीले सन् १९०७ मा नेपाल भ्रमणको क्रममा सिद्धसन्तहरूका दोहाहरू र चर्यापदको खोजी गरेपछि र दस वर्षपछि ‘बौद्धगान ओ दोहा’ को नामबाट प्रकाशित गराएपछि यसतर्फ अन्य विद्वानहरूको ध्यान आकृष्ट भएको हो । शास्त्रीले यसलाई पुरानो बाङ्गलाभाषा मानेका थिए । तर भाषा दृष्टिबाट अध्ययनपछि विद्वानहरूले यसमा मैथिली, उडिया, बांग्ला, मगही, भोजपुरी र अवधी समेत नवभारोपीय आर्य भाषाहरूको बीज रहेको स्वीकार गरे । कयौँ विद्वानहरूले सिद्धसन्तहरू मध्येका प्राचीनतम् ‘सरहपा’ र ‘कन्हपा’का रचनाहरूमा प्राचीन मैथिलीको सर्वाधिक प्रभाव स्वीकार गरेका छन् । यसरी नै बाह्रौँ शताब्दीको सिद्धसन्त विनयश्रीको भाषा अपभ्रंशबाट मुक्त पूर्णरूपमा प्राचीन मैथिलीमा भएको जोसुकैले पनि सहजै चिन्न सक्छ । राहुल सांकृत्यायनले विनयश्रीको भाषालाई प्राचीन पूर्वी मैथिली भनेका छन् ।
‘सरहपा’ र सहजयान बारे चर्चा गर्नुभन्दा पहिले बौद्धधर्म र सिद्धहरूको बारेमा केही आधारभूत तथ्यबाट परिचित हुनु सान्दर्भिक हुनेछ । सिद्धार्थ गौतम बुद्धको निर्वाणपछि बौद्धधर्म दुई भागमा विभाजित भयो—हीनयान र महायान ।
कयौँ विद्वानहरूले सिद्धसन्तहरू मध्येका प्राचीनतम् ‘सरहपा’ र ‘कन्हपा’का रचनाहरूमा प्राचीन मैथिलीको सर्वाधिक प्रभाव स्वीकार गरेका छन् ।
महायान, अर्थात् ठुला ठुला वाहन(यान)हरूले साना–ठुला सबै यात्रुहरूलाई बोकेर निर्वाणसम्म पु¥याउन सक्ने गाडी । हीनयान अर्थात् साँगुरो गाडी जस्ले केवल भिक्षु र विरक्तहरूलाई मात्र आश्रय दिन सक्छ । पछि महायान पनि कयौँ टुक्रामा विभाजित भयो । यस मध्येको सबैभन्दा अन्तिम उल्लेखनीय विभाजन थियो बज्रयान र सहजयान ।
अन्तिम दार्शनिक निष्कर्षमा बज्रयान र सहजयान समान छन् र क्षेत्रीय प्रभाव, भूगोल र सामान्य दार्शनिक व्याख्याको दृष्टिले मात्रै भिन्न छन् । बज्रयानीहरूको विचारमा यस संसारमा सबै थोक शून्य छ, यसको कुनै नियन्त्रक छैन, सत्ता छैन र यसलाई शून्यवाद भनिन्छ । अर्कोतर्फ सहजयानीहरूको विचारमा यस जगतका सबै पदार्थहरू असत्, क्षणिक भए पनि चित्तको निकट सबै सत् छन् यो विज्ञानवाद हो । बौद्धमतमा ‘विज्ञान’को तात्पर्य विचार वा विवेकयुक्त भाव हुन्छ ।
चौरासी सिद्धहरूमा बज्रयानी र सहजयानी दुबै यानका आचार्यहरू छन्, तर अधिकांश सहजयानीहरू छन् । सरहपा विलक्षण मेधाका कवि थिए । उनले आफ्नो साधनाको निम्ति महामुद्राको रूपमा एकजना बाण बनाउने जनजाति युवतीलाई चयन गरेका थिए । सरह अर्थात बाण बनाउने युवतीसँग बसेकाले नै उनलाई ‘सरह पा’ भनियो । बज्रयानी परम्परामा सरहपाको चित्र बनाउँदा हातमा बाण लिएको देखाइएको हुन्छ ।
आठौँ शताब्दीमै सरहपाका समकालीन शंकराचार्यको अद्वैतवेदान्त मूख्यतः गंगा उत्तर र दक्षिण दुबैतर्फ प्रभावशाली हुँदै गइरहेको थियो । बौद्धदर्शनको खण्डन गर्नका निम्ति मिथिलाका कुमारिल भट्ट र मन्डन मिश्र जस्ता प्रसिद्ध नैयायिक (न्यायदर्शनका विद्वान)हरू नयाँ तर्कहरू गढदै थिए ।
दक्षिण एसियाको इतिहासमा ईसाको छैठौँ–सातौँ शताब्दी सन्धिकाल हो, जतिबेला प्राचीन भारतमा हर्षवर्धनको कान्यकुब्ज साम्राज्यको अन्तसँगै प्राचीनकालको अन्त र मध्यकाल शुरू हुँदै थियो । साना साना राज्यहरूको उदयले विविधखाले धर्म र सम्प्रदायहरूको विकासको निम्ति अनुकूल परिस्थिति निर्माण गरिरहेको थियो । बंगालमा पालवंशी शासकहरू बौद्ध मतावलम्बी हुनु सहजयानीहरूको निम्ति सौभाग्य थियो, तर पारम्परिकरूपमा ब्राह्मणधर्मसँग प्रतिरोध गर्दै आएको बौद्धधर्मको निम्ति शैवमतका पाशुपत लगायतका सम्प्रदायहरू र शाक्तहरू नयाँ गम्भीर चुनौती खडा गरिरहेका थिए । गंगा नदीभन्दा दक्षिण मगधमा त त्यतिबेला पनि बौद्धमतकै प्रभाव थियो । गंगानदी वारी उत्तरतर्फ मिथिला र वैशालीमा समेत शैव र शाक्तको प्रभाव बढदै थियो ।
आठौँ शताब्दीमै सरहपाका समकालीन शंकराचार्यको अद्वैतवेदान्त मूख्यतः गंगा उत्तर र दक्षिण दुबैतर्फ प्रभावशाली हुँदै गइरहेको थियो । बौद्धदर्शनको खण्डन गर्नका निम्ति मिथिलाका कुमारिल भट्ट र मन्डन मिश्र जस्ता प्रसिद्ध नैयायिक (न्यायदर्शनका विद्वान)हरू नयाँ तर्कहरू गढदै थिए । त्यस्तै शंकराचार्य (ईसा सन् ७८८–८२०)का शास्त्रसंगै त्रिशुलधारी नागा(नांङ्गा) सन्यासीहरूको सैन्यजत्थाले पनि बौद्ध शासकहरूलाई घुँडा टेक्न बाध्य बनाइरहेको थियो । यस्तै राजनीतिक र सांस्कृतिक द्वन्द्वमय दुईसय वा दुईसय पच्चीसवर्षको प्रभाव अवधिको शुरूवातमा सरहपा सहजयानी दार्शनिक विचारको विकास गरिरहेका थिए । अर्को भयावह चुनौती अरबबाट इस्लामिक आक्रान्ताहरूको आगमन थियो (जो दक्षिण एसियामा लुटेरा आक्रमणकारीको रूपमा आए, तर सांस्कृतिक र राजनीतिकरूपमा सदाको निम्ति यसै भूभागमा बसे) । र, अन्तिमतिर अराजक व्यभिचारको कारण सहजयान आम जनसमुदायबाट पनि कट्दै गएको थियो । यसले दसौँ एघारौँ शताब्दीमा नाथसम्प्रदायलाई फक्रिने मौका दियो । गोरखनाथ (गोरक्षनाथ) नाथसम्प्रदायका प्रवत्र्तक मानिन्छन् ।
यसरी चौतर्फी आक्रमण र राजनीतिक अस्थिरताको कारण कयौँ निष्ठावान सहजयानी आचार्यहरूले सहज र सुगम तराईको समथर भूमि त्यागेर दुर्गम काठमाँडौँ उपत्यका र तिब्बततर्फ पलायन गरे । त्यतिबेला तिब्बत र काठमाँडौँ उपत्यकामा बौद्धमत लोकप्रिय धर्म थियो । भौगोलिक दुर्गमताको कारण प्रायः बाहिरी दुनियाँबाट अलग्ग रहने गरेको काठमाँडौ उपत्यका र तिब्बतमा बज्रयान र सहजयान सुरक्षित रह्यो । अहिले काठमाँडौ उपत्यकामा हिन्दु धर्मको आक्रामकताको कारण बौद्धमत चुनौतीपूर्ण स्थितिमा छ, तर तिब्बतमा भने अहिलेपनि बुद्धधर्म लोकप्रिय छ । ‘मिथिला का इतिहास’का लेखक इतिहासकार डा. राम प्रकाश शर्माका अनुसार त्यतिबेला काठमाँडौँ उपत्यका ‘नेपाल मण्डल’ र मिथिला ‘मैथिल मण्डल’को नामबाट परिचित थियो ।
सहजयानी बौद्ध सम्प्रदायसंग भाषिक र साँस्कृतिकरूपमा ऐतिहासिक र बलियो सम्बन्ध भएरपनि मिथिला र मैथिली–भोजपुरी क्षेत्रमा आधुनिककालमा बौद्धमत लोपको स्थितिमा हुनुको एउटा महत्वपूर्ण एतिहासिक कारण राजनीतिक, सांस्कृतिक, धार्मिक परिस्थितिहरूको आरोह अवरोह र सिद्ध आचार्यहरूको पलायनपनि हो । गंगाको उत्तरी मैदानीक्षेत्र र हालको नेपाल तराईमा ब्राह्मणधर्म, शैव, शाक्त र नाथ सम्प्रदायको आक्रामक विस्तारको सहजयानी सिद्धहरूका महामुद्रा (योगिनी)हरू लोकजीवनमा डोमिनियामाई, चमिनियामाई, संसारीमाई, बोधीमाई जस्ता विविध नामबाट चमत्कारी वनदेवीमा परिणत भइन् । महायान र बज्रयानका अवलोकितेश्वर विष्णुका अवतारमा स्वीकृत भए र तारा सरस्वतीको समतुल्य वीणापाणि विद्याकी देवीमा परिणत भइन् । नाथसम्प्रदायका योगीहरूले भाषा, रूपक र दार्शनिक भावतत्व सिद्ध साहित्यबाट ग्रहण गरे । फरक के थियो भने सहजयानी सम्प्रदायका सिद्धहरूले स्त्रीदेहसंगको सहवासमा अनासक्त भावबाट महासुख वा परमानन्द बोधको व्याख्या गर्थे, भने नाथयोगीहरू स्त्रीलाई आध्यात्मिक मुक्ति (परमानन्द, मोक्ष)को मार्गमा बाधक मानेर ब्रह्मचर्य र वैराग्यको वकालत गर्थे ।
नाथसम्प्रदायका योगीहरूले भाषा, रूपक र दार्शनिक भावतत्व सिद्ध साहित्यबाट ग्रहण गरे । फरक के थियो भने सहजयानी सम्प्रदायका सिद्धहरूले स्त्रीदेहसंगको सहवासमा अनासक्त भावबाट महासुख वा परमानन्द बोधको व्याख्या गर्थे, भने नाथयोगीहरू स्त्रीलाई आध्यात्मिक मुक्ति (परमानन्द, मोक्ष)को मार्गमा बाधक मानेर ब्रह्मचर्य र वैराग्यको वकालत गर्थे ।
सातौँ शताब्दीमा हर्षबर्धन र त्यसपछि बंगालका पालवंशी राजाहरूले बौद्धधर्मको पोषण गरेपनि शैव र बौद्धहरू बीचको कटुता त्यसपछि कयौँ शताब्दीसम्म कायम रह्यो । बौद्धसंगको यो कटुता पछि वैष्णवी रामानुजी र रामानन्दी आदि कृष्ण र रामलाई इष्ट मानेर विकसित सम्प्रदायहरूमा बीसौँ शताब्दीसम्मपनि देखियो । आठौँ शताब्दीमा शंकराचार्यका अद्वैत वेदान्ती र महायानी शून्यवादी बौद्धहरू बीच केही सम्झौता भएको पनि देखिन्छ । सम्भव छ राजकीयस्तरमा शैव र वैष्णवीसंग बौद्धहरू नसक्ने र लोकजीवनमा बौद्धहरूको प्रभावलाई शंकराचार्यले सीधा जित्न नसक्ने स्थितिको कारण यस्तो सम्झौता भएको हुनुपर्छ । यस सम्झौता अनुसार महायानी बौद्धहरूले शंकराचार्यलाई ‘प्रछन्न बौद्ध’ र शंकराचार्यका अद्वैतवेदान्ती सन्यासीहरूले गौतम बुद्धलाई ‘विष्णुको अवतार’को रूपमा स्वीकार गरेका थिए । तर परिणामले के देखाउँछ भने यो सम्झौता उपरी मात्र थियो । बौद्ध र अद्वैतवेदान्ती सन्यासी र द्वैतवेदान्ती वैष्णवीहरूको कटुता (कम्तीमा आलोचनाको स्तरमा भएपनि)अहिलेपनि देखिन्छ । अहिलेपनि आफूलाई सनातनी भन्नेहरू बुद्धलाई ओमकार परिवार भनेर हिन्दुभित्रकै एउटा सम्प्रदायको रूपमा व्याख्या गर्न खोज्दैछन्, भने बौद्ध अनुयायीहरू आफूलाई स्वतन्त्र धर्मको रूपमा र अज्ञेयवादी दर्शनको पक्षपातीको रूपमा प्रस्तुत गर्न खोजीरहेका छन् । तिब्बतमा भने अहिलेपनि महायानी विशेष गरेर सहजयानी सम्प्रदायको प्रभाव छ, र सरहपा, अहिलेपनि श्रेष्ठतम् पुजनीय गुरू हुन् ।
शंकराचार्य र रामानुजी जस्ता अद्वैत वेदान्ती वा द्वैतवेदान्ती सबैले यस संसारलाई कल्पना, मिथ्या, दोषयुक्त र ब्रह्मलाई सत्य भनेका छन् ।
सरहपा, भाषा, धर्म र संस्कृतिको सन्धिकालमा जन्मेका थिए । यस्को प्रभाव उनको प्रतिरोधी चिन्तन र कवित्वमा देखिन्छ । संस्कृतको ठुलो विद्वान भएरपनि उनले तत्कालीन लोकभाषा अपभ्रंशमा रचना गरे, ब्राह्मण कुलका भएपनि वर्णाश्रमको उपेक्षा गरेर एउटी बाण (शर) बनाउने केटीलाई आफूसंग राखे, जस्को कारण उनी राहुलभद्रबाट सरहपा (वा पाद) भए । उनको साहित्यमा ब्राह्मणधर्म, आडम्बरयुक्त वैराग्य र अलौकिकतावादको तिव्र विरोध पाइन्छ । सरहपाले अज्ञातको खोजीमा जीवन व्यर्थ गुमाउनु भन्दा सहजजीवन र देहलाई प्रधानता दिए । उनले ब्राह्मणधर्ममा गरिने यज्ञको व्यर्थताको आलोचना गर्दै भने :
“ब्रम्हणेंहि म जानन्तहि भेउ । एवइ पढिअउ ए च्चउवेउ ।।
मट्टि पाणि कुस लई पढन्तं । घरहिँ बइसी अग्गि हणन्तं ।।
कज्जे विरहिअ हुअवह होमेँ । अख्खि डहाबिअ कडुअेँ धूमे ।।”
(ब्राह्मणले भेद जान्दैनन् र चारवटै वेद पढछन् । माटो पानी कुश लिएर (मन्त्र) पढछन । कामबिना होम गर्छन् र पीरो धुवाँले आँखा डढाउँछन् । )
त्यसरी नै पाशुपत शैव जटाधारीहरूको आलोचना गदै सरहपा भन्छन् :
“अइरिएहिँ उद्दलिअ च्छारेँ । सीससु वाहिअ ए जड भारेँ ।।”
(शैवहरूले खरानी घस्छन् र टाउकोमा जटाको भारी बोक्छन् ।)
हुन त पछि सहजयान भित्र आफ्नै खालको मन्त्र तन्त्र र अन्धविश्वासी पूजाविधि विकसित भयो, तर सरहपा यस्का विरूद्ध थिए ः
“मन्त ण तन्त ण धेअ ण धारण । सब्बवि रे बढ़ विब्भमकारण ।
(न मन्त्र, न तन्त्र, न ध्येय न धारण, यी सब छन बडो विभ्रमका कारण ।)
सरहपा, साधु भएर गृह त्याग गर्नुलाई व्यर्थका जञ्जाल भन्दै, यसै जगतमा अनासक्त भावमा जीवनको आनन्द लिनुलाई महासुख वा परमानन्द भन्छन् :
“घरहि म थक्कु म जाहि वणे, जहि तहि मण परिआण ।
सअलु णिरन्तर बोहि ठिअ, कहिँ भव कहि णिब्बाण ।
णउ घरे णउ वणेँ बोहि ठिउ, एहु परिआणहु भेउ ।
णिम्मल चित्र सहावता, करहु अविकल सेउ ।”
( न घरमा, न वनमा, सबै ठाउँमा त निरन्तर बोधि(परम ज्ञान) स्थित छ, अनि के को भव (संसार) र के को निर्वाण ? न घरमा न वनमा बोधि (परम ज्ञान) छ । यस भेदलाई जान । चित्त निर्मल हुनु नै मूख्य हो, यसको सँधै सेवन गर ।)
उनले यस आनन्दमय जगतमा रमाउनुलाई नै जीवनको सार भने :
“जइ जग पूरिअ सहजानन्दे । णाच्चहु गाअहु विलसहु चंगे ।।
(यो जग सहज आनन्दले भरिएको छ, नाच, गाउ र खुशीपूर्वक मोज गर ।)
तर उनी यस सहज आनन्दको महासुख बोध गरिरहँदा अनासक्त भाव र संयमको उपदेशपनि दिन्छन् :
“विसअ रमन्त ण विसअहिँ लिप्पइ । उअअ हरन्त ण पाणी च्छुप्पइ ।”
(विषयहरूमा रमण गर्दा (रम्दा) विषयमा लिप्त न होउ । पानी झिक तर पानी न छोउ ।)
सरहपा सम्पूर्ण तीर्थको केन्द्र देह (शरीर)लाई नै मान्छन् । उनी भन्छन् :
“एथु से सरसइ सोबणाह, एथु से गंगासाअरू ।
वाराणसि पआग एथु, सो चान्द दिवाअरू ।
खेत्त पिट्ठ उअपिट्ठ एथु, मइ भमिअ समिट्ठउ ।
देहा सरिस तित्थ, मइ सुणउ ण दिट्ठउ ।।
(यसैमा सरस्वती, सोमनाथ, यसैमा गंगासागर, बनारस, प्रयाग, क्षेत्र, पीठ, उपपीठ छन् । देह सदृश तीर्थ न सुनेँ न देखेँ ।)
हाल यो भौतिकता अनौठो नभएपनि तत्कालीन परिस्थितिमा यो देहवादी विचार अति नै क्रान्तिकारी विचार थियो । नेवारी समुदायमा हुने ‘म्ह पुजा’ सरहपाको यसै देहवादी विचारको संशोधित सांस्कृतिक चलन हो ।
शंकराचार्य र रामानुजी जस्ता अद्वैत वेदान्ती वा द्वैतवेदान्ती सबैले यस संसारलाई कल्पना, मिथ्या, दोषयुक्त र ब्रह्मलाई सत्य भनेका छन् । यस्को विपरीत सरहपाले जगतको भोगलाई न असत्य, न त्याज्य नै भने । उनले यस जगतलाई क्षणिक र अनासक्त भावबाट यस्को भोग बोधलाई नै महासुख भने । उनको दृष्टिमा परमपद मनको एउटा विशेष अवस्था हो, जुन यस जगत (भव)मा रहेर पनि प्राप्त गर्न सकिन्छ ।
“जहिँ मण मरइ, पवणहो तहि लअ जाइ ।
एहु सो परम महासुह, सरह कहिहउ जाइ ।”
सरहपाको चिन्तन विधि पूर्ण भौतिकवादी होइन । उनी अज्ञेयवादी हुन् । तर उनको चिन्तन प्रवृत्ति भने सांसारिक छ, जस्ले उनका दार्शनिक विचारहरूलाई महत्वपूर्ण, मानवीय र क्रान्तिकारी बनाउँछ । सरहपाले प्रवत्र्तन गरेको सहजयानी चौरासी सिद्धहरूमा अन्तिम एघारौँ शताब्दीको पूर्वाद्र्धमा ‘कालपा’ मानिन्छन् । यद्यपि बाह्रौँ शताब्दीको अन्ततिर विनयश्री यस परम्पराका उल्लेखनीय कवि देखिन्छन्, जस्ले तिब्बत पुगेर सहजयानी ग्रन्थहरूलाई तिब्बती भाषामा अनुवाद गर्नमा सहयोग गरे । विनयश्रीका साथी र गुरूभाईहरू विभूतिचन्द्र, दानशील, सुगतश्री आदि कयौँ सहजयानी सन्तहरूका दोहा र चर्यागीतहरू तिब्बत र काठमाँडौ उपत्यकतामा अहिलेपनि गाइन्छन् ।
अनुसन्धानकर्ताहरूले काठमाँडौ उपत्यका र तिब्बतबाट सहजयान वा बज्रयानका अनेकौँ ग्रन्थहरूको खोजी गरेका छन् । तर अहिलेपनि तिब्बतका गुम्बाहरूमा र काठमाँडौका संग्रहालयमा सहजयानी ग्रन्थहरू खोजीजनको प्रतीक्षामा छन्, जस्मा मैथिली र भोजपुरीभाषिक समाजको मध्यकालीन वैचारिक विमर्शका साथै सामाजिक सांस्कृतिक इतिहासको एउटा महत्वपूर्ण पाटो लुकेको छ । व्यक्तिगत्स्तरमा यो दुरूह कार्य हो । तर यस्को खोजीले मध्यकालमा मैथिली भोजपुरी भापिक समाजमा बौद्धधर्मको एतिहासिक उपस्थितिलाई थप बल पु¥याउँछ र सहजयानी विज्ञानवादी विचारको उद्भवस्थलको श्रेय यस क्षेत्रलाई दिनेछ ।
प्रतिक्रिया