तालिवानद्वारा महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

तालिवानद्वारा महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध


काठमाण्डु – तालिवान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागू गरेको छ ।

ग्लोबल न्यूजका अनुसार प्रतिबन्धको कानूनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ ।

अफगानिस्तानमा तालिवानको कब्जापछि सन् २०२१ मा स्थापना भएको ‘सद्गुणको प्रचार र दूराचारको रोकथाम’ मन्त्रालयले नयाँ कानून जारी गरेको छ ।

११४ पृष्ठको कानूनी दस्तावेजले अफगानिस्तानको सार्वजनिक जीवनका पक्षहरूलाई समेटेको छ । मन्त्रालयका प्रवक्ता मौलवी अब्दुल गफर फारूकले बिहीबार भने, ‘हामी आश्वासन दिन्छौं कि यो इस्लामिक कानूनले सद्गुणको प्रवर्द्धन र दुराचार उन्मूलनमा ठूलो मद्दत गर्नेछ ।’

दस्तावेजको धारा १३ मा महिलाले सार्वजनिक रूपमा प्रस्तुत हुँदा कसरी लुगा लगाउनुपर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको व्याख्या गरिएको छ ।

महिलाले आफू प्रलोभनमा नपर्न र अरूलाई प्रलोभनमा नपार्न सार्वजनिक रूपमा प्रस्तुत हुँदा अनुहारसहित आफ्नो सम्पूर्ण शरीर ढाक्न आवश्यक रहेको नयाँ कानूनले जनाएको छ । महिलाहरूले सामान्यतया लगाउने हिजाब जसले कपाल र घाँटी मात्र ढाक्छ अब नयाँ कानूनअनुसार स्वीकार्य नभएको ग्लोबल न्यूजले जनाएको छ ।

महिलाको आवाज बढी ‘लालाहित’ हुने व्याख्या गर्दै नयाँ कानूनले अब महिलालाई सार्वजनिक रूपमा गाउन वा चर्को स्वरमा बोल्न निषेध गरेको छ ।

महिलालाई रगत वा विवाहद्वारा सम्बन्धित नभएका पुरुषलाई हेर्ने अनुमति नभएको व्याख्या नयाँ कानूनले गरेको छ ।

यी नियमहरू उल्लंघन गर्दा सजायस्वरूप सम्पत्ति जफत वा ३ दिनसम्म हिरासतमा राख्न सकिने चेतावनी दिइएको छ । मन्त्रालयले पहिले नै समान नैतिक मापदण्डहरू लागू गर्दै यसको उल्लंघनका लागि हजारौलाई हिरासतमा लिएको छ ।

ह्युमन राइट्स वाचको महिला अधिकार विभागका सहयोगी निर्देशक हिथर बारले नयाँ नियमको टिप्पणी गर्दै भने, ‘यी नियमहरू पहिले नै थिए तर औपचारिक थिएनन्, अब औपचारिक बनाइएको छ । मलाई लाग्छ यो हामीले विगत ३ वर्षदेखि देखिरहेका कुराको संकेत हो, दमनको क्रमिक वृद्धि हो ।’

तालिवानले अफगानिस्तान कब्जा गरेदेखि महिलाको स्वतन्त्रतामा कडा प्रतिबन्ध लगाउँदै आएको छ । सन् २०२२ मा तालिवानले महिलाहरूलाई छैटौं कक्षाभन्दा माथि विद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।

सन् २०२२ मा तालिवानले महिलालाई गैरसरकारी संस्था (एनजीओ) मा काम गर्न प्रतिबन्ध लगाएको थियो । ग्लोबल न्यूजसँग कुरा गर्ने एक महिलाले एनजीओमा जागिर गुमाएपछि आफ्नो परिवार गरीबीमा डुबेको बताए ।

‘म मेरो परिवारको आर्थिक भार बोक्ने एकमात्र आधार हुँ । हामी परिवारमा ४ जना मात्रै छौंः म, मेरी बहिनी र मेरा आमाबाबु । मेरो बुबा अहिले बिरामी हुनुहुन्छ । हामीलाई बिहान बेलुका खान पनि समस्या छ,’ उनले भने ।

महिलामाथि लगाइएको नयाँ प्रतिबन्धका अतिरिक्त बुधबार पारित भएको कानूनले संगीत बजाउन पनि निषेध गरेको छ । यसले पुरुषलाई दाह्री काट्न पनि निषेध गरेको छ । यस कानूनले चालकहरूलाई पुरुष अभिभावक विना महिलालाई ओसारपसार गर्न निषेध गरेको छ ।

गत महिना संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मन्त्रालयले आफ्नो आदेश र कार्यान्वयन विधिमार्फत अफगानीबीच डर र धम्कीको वातावरणलाई बढावा दिइरहेको संकेत गरेको थियो ।

तालिवानले संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई अस्वीकार गरेको छ ।