छिमेकी मुलुुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ओली

छिमेकी मुलुुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरू देखिनु सामान्य भएकाले ती विषयमा खुलस्त रूपमा संवाद गरेर समाधान गर्न सकिने बताएका छन् ।

पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको सोमबार विमोचन गर्दै उनले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए ।

‘नेपालले सन्तुुलत, इमान्दारिता र पक्षधरताविहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्काे छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं । कसैको कुुभलो चिताउँदैनौं । हाम्रो भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौं,’ उनले भने, ‘हामी तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्छौं । संयुक्त राष्ट्रसंघका सिद्धान्तको पालना गर्छाैं । त्यसको उल्लंघन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ । तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ । हामी विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील छौं । कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानका धक्का लगाउने काम गर्नु हुँदैन ।’

देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै उनले राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गरे । उनले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धी लगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई आग्रह गर्दै त्यसपछि सीमा विवाद लगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट गरे ।

उनले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी हुनु युुगान्तकारी काम भएको पनि स्मरण गरे ।

तत्कालीन परराष्ट्रमन्त्री थापाले चीनसँगको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडर रूपमा कुरा राख्न सक्ने नेताका रूपमा प्रधानमन्त्री ओलीलाई आफूले पाएको बताए ।