नाडा अटो शो आजदेखि सुरु हुँदै,के छन् आकर्षणमा ?

नाडा अटो शो आजदेखि सुरु हुँदै,के छन् आकर्षणमा ?

फाइल तस्विर

काठमाण्डु –  नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा ‘नाडा अटो शो २०२४’ आजदेखि सुरु हुने भएको छ ।

नाडाले आजदेखि सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्न लागेको हो ।  सो प्रदर्शनी काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा भदौ १६ गतेसम्म हुनेछ।

६ दिनसम्म चल्ने नाडा अटो शोमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने भएका छन्। यसका साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरूले वित्तीय समाधानहरू प्रदान गर्नेछन्। समग्रमा शोमा ९५ प्रदर्शकहरूले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।

प्रदर्शनीलाई चार–पाङ्ग्रे, दुई–पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ।

टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ। एक भाग्यशाली सहभागीले सिजी मोटर्स प्रालिद्वारा प्रायोजित हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्।

नाडा अटो शोमा हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ती टिकटिङ पार्टनरको रूपमा रहनेछ। यसैगरी, वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर र ८८ हिटको प्रा.लि.८८ र सीसीटीभी नेपालको प्रदर्शनीमा सहयोग रहने भएको छ। प्रदर्शनीको व्यवस्थापक ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेस प्रा.लि. (जेम्स) रहेको छ।

दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै, यस वर्ष, नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ। यसमा टाटा ईभी मुख्य प्रायोजक, सर्भो लुर्बिकेन्टस् र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा रहेका छन्।

नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीकोको बेला नाडा अटो शो २०२४ ले उद्योगलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आयोजकहरूले यस वर्षको प्रदर्शनीले मात्र आर्थिक गतिविधिलाई बढावा दिने मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटोमोबाइल व्यवसाय समुदायको मनोबललाई पनि उचाल्ने विश्वास गरेका छन्।