अष्ट्रेलियाले घटायो अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाको संख्या, अब २०२३ भन्दा कति कम ?

अष्ट्रेलियाले घटायो अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाको संख्या, अब २०२३ भन्दा कति कम ?


काठमाण्डु – अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकमाझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना २ लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ ।

घोषणाअनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा १ लाख ४५ हजार, व्यावसायिक शिक्षा र प्रशिक्षण (भीईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैरविश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ ।

शिक्षामन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भीईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाए ।

उनले निर्धारित सीमाहरू, संसद्ले पारित गर्ने बताउँदै अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या सन् २०१९ को भन्दा ७ हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिए ।

घोषणाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको कोटा पूरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्छन् ।

घोषणा शिक्षा प्रणालीलाई अझ प्रभावकारी र निष्पक्ष रूपमा स्थापना गर्ने प्रयत्नशील रहेकाले केही विश्वविद्यालयलाई मात्र नभई सम्पूर्ण क्षेत्रलाई लाभान्वित गर्ने क्लेयरले उल्लेख गरे ।

यसअघि सत्तारुढ लेबर पार्टीले सन् २०२२–२३ मा अस्ट्रेलियाको कूल आप्रवासन संख्या ५ लाख २८ हजार बाट घटाएर सन् २०२४–२५ सम्ममा २ लाख ६० हजार बनाउने रणनीतिसहित अन्तर्राष्ट्रिय विद्यार्थी संख्या सीमित गर्ने योजना घोषणा गरेको थियो ।

गत जुलाईमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन शुल्क ७१० अस्ट्रेलियन डलरबाट दोब्बर बढाएर १ हजार ६०० अस्ट्रेलियन डलर बनाएको छ ।

गैरसरकारी संस्था युनिभर्सिटीज अस्ट्रेलियाका प्रमुख कार्यकारी ल्युक सिहीले अगस्टको सिनेट सुनुवाइमा विश्वविद्यालयको अर्बाैं डलर राजस्व खर्च गर्ने र १४ हजार रोजगारी जोखिममा पार्ने जनाएका थिए ।

उनले अन्तर्राष्ट्रिय विद्यार्थीले गत वर्ष अस्ट्रेलियाको कूल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको बताउँदै लगभग उनीहरूले नै राष्ट्रलाई मन्दीबाट जोगाएको उल्लेख गरे ।

सरकारी तथ्यांकका अनुसार सन् २०२३ मा अष्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य ४७.८ बिलियन अस्ट्रेलियन डलर थियो ।