प्याजको भाउ अकासियाे, थोक मूल्य नै १३० रुपैयाँ

प्याजको भाउ अकासियाे, थोक मूल्य नै १३० रुपैयाँ


 काठमाण्डु– नेपाली बजारमा प्याजको भाउ अकासिएको छ । पछिल्ला केही दिन यता प्याजको भाउ ह्वात्तै बढेको हो ।  

एक साताअगाडि प्याज प्रतिकिलो ८० रुपैयाँ थोकमा कारोबार भएको थियो । 

आजको भाउमा चाइनिज प्याजको थोक मूल्य ११५ देखि १२० रुपैयाँ प्रतिकिलो रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यस्तै आज भारतीय प्याज (थोकमा) प्रतिकिलो १२० रुपैयाँ देखि १३० रुपैयाँ सम्म कारोबार भइरहेको छ ।  

खुद्रा बजारमा प्याज प्रतिकिलो १५० रुपैयाँमा कारोबार भएको छ । पछिल्लो एक सातामा प्याजको भाउ थोकमै प्रतिकिलो ४० रुपैयाँ महँगो भएको छ ।  

भारतमा प्याजको भाउ महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो  । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा पछिल्लो एक सातादेखि औसतमा ४५ मेट्रिक टन प्याज भित्रिएको कालीमाटी बजार समितिले बताएको छ ।  

 भारतमा अहिले प्याजको भाउ प्रतिकिलो ४५ भारु खुद्रामा कारोबार भइरहेको छ ।

भारत सरकारले प्याजमा ४० प्रतिशत निर्यात महसुल लगाएको त्योसँगै भन्सार जोडिएर आउँदा भाउ महँगो भएको  बताइएको छ ।