काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्युरो बैठक बस्ने निर्णय गरेको छ ।
बिहीबारको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता विस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताए ।
बैठकमा ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरूलाई अझ व्यवस्थित गर्नेबारे पनि छलफल भएको छ । पार्टी प्रवेश र जिम्मेवारीविहीन अवस्थामा रहेकालाई ३ महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।
हरेक कमिटीले कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको शुरुवात गर्ने, कमिटीहरू विधिसम्मत ढंगले सञ्चालन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कूल र प्रदेशहरूमा ७ वटा स्थायी पार्टी स्कूलहरू सञ्चालन गरी वर्षको १ पटक हरेक पार्टी सदस्यले अनिवार्य दीक्षित हुने ढंगले पार्टी स्कूलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताए ।
बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ । कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे छलफल भएको उनले बताए ।
प्रतिक्रिया