काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै रहेका बताएका छन् ।
संसद्मा एमाले सांसद योगेश भट्टराईले माओवादी द्वन्द्वलाई हिंसा भनेपछि माओवादी सांसदहरूले प्रतिवाद गरेका थिए । त्यसै सन्दर्भमा महासचिव पोखरेलले प्रचण्डले नै तिक्ततापूर्ण बहसको सुरुआत गरेको दाबी गरे ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हो । विपक्षी दलको नेताका रूपमा संसदीय अभ्यास र प्रचलन विपरित नयाँ सरकार गठन भएको १०० दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समीकरणविरुद्ध उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो । प्रचण्डको गलत र कुण्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षबाट हुनु स्वाभाविक नै हो । त्यसबाट माओवादीका मित्रहरू धेरै उद्वेलित हुनुपर्दैन ।’
माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिए पनि संविधानले जनयुद्ध नचिन्ने बताए ।
‘माओवादी सांसदहरू जनयुद्ध भनिरहेकै सुनिन्छ । एमाले र कांग्रेसलाई संविधानको भाषा बोलेन भनेर विरोध गर्नेले माओवादीले चाहिँ संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ र ?’ उनले लेखेका छन्, ‘स्मरणरहोस्, जुन दिन माओवादी पक्षले जनयुद्ध शब्द प्रयोग गर्न छोड्छ, त्यो दिनदेखि उनीहरूलाई नेकां र एमालेलाई हिंसात्मक द्वन्द्व भनेकोमा आपत्ति गर्ने नैतिक अधिकार प्राप्त हुनेछ ।’
प्रतिक्रिया