ग्लोबल आईएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

ग्लोबल आईएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक


काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ ।

बैंकले बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न एप सार्वजनिक गरेको हो ।

बैंकले १२–१७ वर्षसम्मका बालबालिकालाई आफैं डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको ग्लोबल जुनियर एपमार्फत तोकिएको उमेर समूहका बालबालिकाले बचत गर्ने बानीको विकास गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन् ।

एपमार्फत बालबालिकाले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरूमा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ । आमाबुवाको निगरानी र मार्गदर्शनमा बालबालिकाहरूका लागि ग्लोबल जुनियर एपमार्फत् नविनतम वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ ।

‘एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरूमा वित्तीय व्यवस्थापन सम्बन्धी क्षमता विकासका लागि सुरक्षित वातावरण समेत रहेको छ,’ बैंकले भनेको छ, ‘ग्लोबल जुनियर एप १२–१७ वर्षका किशोर प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको प्लेटफर्म हो । यो एप बालबालिकाहरूले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आईएमई बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकहरूको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ ।’

ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधा उपलब्ध छन् । एप डाउनलोड गरेर पहिलो वर्षको लागि निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।