काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्ने बताएका छन् ।
मंगलबार पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै उनले २०८४ सालमा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताए ।
उनले भने, ‘नेकपा एमाले २०८४ सालको निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन, एक्लै लड्छ । बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ । त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ ।’
आगामी निर्वाचनका लागि पार्टीका राजनीतिक सांगठनिक कामलाई चुस्त–दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने उनले बताए । ‘संगठनहरू चुस्त–दुरुस्त हुनुपर्यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन,’ उनले भने, ‘ग्राउण्डमा योजना बनाएर अघि बढ्नुपर्यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्यो ।’
बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना पेश गरेका छन् । कार्ययोजनामाथि बुधबारको बैठकमा छलफल गरेर निर्णय गर्ने एमालेको तयारी छ ।
प्रतिक्रिया