काठमाण्डु – सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरेपछि अब सुर्खेतमा समेत क्यान्सर उपचार सुरु हुने भएको छ ।
मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सुर्खेत प्रादेशिक अस्पतालका तर्फबाट निर्देशक डम्बर खड्काले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ ।
सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा छ ।
यसअघि यस्तो सेवाका लागि कोशी प्रदेश अस्पतालसँग समेत बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सम्झौता भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । जसले क्यान्सर उपचार सेवालाई ७ वटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो ।
गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया