काठमाण्डु – नेकपा एमालेको मंगलबारदेखि सुरु पोलिटब्युरो बैठकमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
कार्ययोजनामा पार्टी सदस्यता, विस्तार र अभिलेखीकरण, पार्टी र जनवर्गीय संगठनका नियमित अधिवेशन, पार्टी कमिटी तथा नेता र कार्यकर्ताको मूल्यांकन गरिने कुरा समेटिएको उनले बताए । ‘पार्टी कमिटीले दिएका काम पूरा गर्छ कि गर्दैनन्, क्रियाशील छ कि छैनन् भनेर जोड दिइएको छ । विधिसम्मत तरिकाले पार्टी कमिटी चलेका छन् कि छैनन् भनेर पनि मूल्यांकन गर्ने विषय पनि कार्ययोजनामा राखिएका छन्,’ प्रचार विभाग प्रमुख गौतमले भने ।
सरकार र जनप्रतिनिधिको प्रभावकारिता परिचालन गर्ने, सरकारले गरेका कामलाई जनस्तरमा लगेर स्थापित गर्ने कुरा पनि कार्ययोजनामा राखिएको जनाइएको छ । प्रत्येक पार्टी कार्यालयलाई प्रविधिमैत्री बनाउने, प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, पार्टी कार्यालयमा प्रचार डेस्क स्थापना र सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधि सञ्चालन गर्ने विषय पनि उल्लेख गरिएका छन् ।
भूमिका नपाएका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइने र पार्टीका प्रत्येक तहका कमिटीले स्रोत सुनिश्चित गरेर बजेट निर्माण गर्ने कुरा पनि समेटिएको छ । प्रचार विभाग प्रमुख गौतमले एमाले केन्द्रीय कार्यालय भवन निर्माण गर्न समिति गठन गरेर चाँडै काम सुरु गर्ने विषय पनि कार्ययोजनामा रहेको बताए ।
एमालेले विश्वभरका कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । प्रचार विभाग प्रमुख गौतमका अनुसार माक्र्सवादको सिर्जनात्मक प्रयोग र सम्बन्धित मुलुकको अनुभवमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको छ । सम्मेलन आगामी मंंसिर वा वैशाखमा महिनामा गर्ने गरी छलफल भइरहेको उनले जानकारी दिए ।
भोलि सबै पोलिटब्युरो सदस्यले आ–आफ्नो भनाइ राख्ने कार्यतालिका छ । कार्ययोजनालाई पोलिटब्युरो सदस्यको सुझावका आधारमा अन्तिम रूप दिएपछि सार्वजनिक गरिने प्रचार विभाग प्रमुख गौतमले बताए ।
प्रतिक्रिया